Logo

२५ जेठ,वीरगञ्ज ।माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा जफत गरिएका ४९६ थान मोबाइल फोन र ५ थान स्मार्ट घडी प्रशासनले नष्ट गरेपछि सिरहामा विद्यार्थीहरू आन्दोलित भएका छन्।

जिल्ला प्रशासन कार्यालय सिरहाले जफत गरिएका सामग्री नष्ट गरेको विषय सार्वजनिक भएपछि विद्यार्थीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले करिब १ करोड रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको दाबी गर्दै क्षतिपूर्ति उपलब्ध गराउन र निर्णयमा संलग्न जिम्मेवार अधिकारीमाथि कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनकारी विद्यार्थीहरूले जफत गरिएका सामग्री कानुनी प्रक्रिया पूरा नगरी नष्ट गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार परीक्षा केन्द्रमा मोबाइल जफत गरिनु एउटा विषय भए पनि त्यसलाई सम्बन्धित व्यक्तिलाई फिर्ता नगरी नष्ट गर्नु अनुचित र गैरकानुनी कदम हो।

घटनापछि जिल्लामा विद्यार्थीहरूको विरोध चर्किएको छ। विभिन्न विद्यार्थी संगठन तथा सरोकारवालाले प्रशासनको निर्णयप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।

कानुनी विज्ञहरूले समेत उक्त कदममाथि प्रश्न उठाएका छन्। उनीहरूका अनुसार जफत गरिएको निजी सम्पत्ति अदालतको आदेश वा स्पष्ट कानुनी आधारबिना नष्ट गर्नु संविधानले सुनिश्चित गरेको सम्पत्तिको हकविपरीत हुन सक्छ।

विद्यार्थीहरूले क्षतिपूर्ति, घटनाको छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

यस विषयमा जिल्ला प्रशासन कार्यालय सिरहाले भने हालसम्म विस्तृत आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।


सम्बन्धित समाचार
भर्खरै