Logo

२७ जेठ, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आज अस्वाभाविक गिरावट आएको छ। केही समययता निरन्तर उकालो लागिरहेको सुनको भाउमा बुधबार एकैदिन १० हजार १ सय रुपैयाँको भारी गिरावट दर्ता भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत बुधबार ३ लाख ११ हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्यमा भएको यो तीव्र गिरावटले बजारमा नयाँ तरंग सिर्जना गरेको छ। सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी गत साताको तुलनामा निकै सस्तो भएको हो । अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यको उतारचढाव र डलरको विनिमय दरमा आएको परिवर्तनको प्रत्यक्ष असर स्थानीय बजारमा देखिएको हो ।

मूल्यमा आएको यो नाटकीय परिवर्तनले सुन खरिदका लागि पर्खिरहेका उपभोक्ताहरूलाई केही राहत मिलेको भए पनि लगानीकर्ताहरूमा भने अन्योल बढाएको छ ।


सम्बन्धित समाचार