काबुल, २७ जेठ । अफगानिस्तानको हवाई क्षेत्रको उल्लंघन गर्दै पाकिस्तानी सेनाले गरेको पछिल्लो हवाई आक्रमणमा परी १३ जना सर्वसाधारणले ज्यान गुमाएका छन् ।
डुरेन्ड रेखा नजिकैका विभिन्न प्रान्तहरूलाई लक्षित गरी मंगलबार राति र बुधबार बिहान गरिएको उक्त आक्रमणमा परी दर्जनौँ बालबालिका र महिलाहरू घाइते भएका छन् ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सार्वजनिक गरेको विवरण अनुसार कुनार, खोस्त र पक्तिका प्रान्तका आवासीय बस्तीहरूमा बमबारी गरिएको हो । यस आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्ध पुरुषको मृत्यु भएको पुष्टि गर्दै मुजाहिदले घटनामा थप १४ जना घाइते भएको जानकारी दिएका छन् । तालिबान प्रशासनले यस घटनालाई अन्तर्राष्ट्रिय कानुनविपरीतको ‘मानवीय अपराध’ भन्दै पाकिस्तानविरुद्ध कडा आक्रोश पोखेको छ ।
पछिल्लो समय अफगानिस्तानको तालिबान सरकार र पाकिस्तानबीच सीमा विवाद र सुरक्षासम्बन्धी विषयलाई लिएर तिक्तता बढ्दै गएको छ । यस सैन्य कारबाहीका विषयमा पाकिस्तान सरकार वा सेनाको तर्फबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।
आवासीय घरहरूलाई नै निशाना बनाइएको यस घटनाले सीमा क्षेत्रमा थप तनाव उत्पन्न गर्ने संकेत देखिएको छ ।

















