Logo

२९ जेठ,वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले मापदण्डविपरीत फोहोर पानी सिधै सिर्सिया नदीमा विसर्जन गरी वातावरण प्रदूषण गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी नदी तथा खोलामा मिसाइएको सम्बन्धमा विभिन्न माध्यमबाट गुनासा तथा उजुरी प्राप्त भएको र सञ्चार माध्यमहरूमा समेत उक्त विषय सार्वजनिक भएपछि सम्बन्धित उद्योगहरूलाई सचेत गराइएको उल्लेख छ।

प्रचलित औद्योगिक तथा वातावरणीय कानुनअनुसार उद्योग दर्ता, क्षमता विस्तार वा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्दा उत्पादन प्रक्रियाबाट उत्पन्न हुने प्रदूषण तथा फोहोर पानी व्यवस्थापनका लागि ‘फोहोर पानी प्रशोधन प्रणाली’ (Effluent Treatment Plant) जडान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।

विज्ञप्तिमा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख गरिएका प्रदूषण न्यूनीकरणका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा नेपाल सरकारले निर्धारण गरेको वातावरणीय मापदण्डअनुरूप मात्र फोहोर पानी विसर्जन गर्न उद्योगहरूलाई निर्देशन दिइएको छ।

मन्त्रालयले नदी तथा खोला प्रदूषणको विषयलाई आधारभूत मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर सवालका रूपमा उल्लेख गर्दै सम्पूर्ण उद्योग प्रतिष्ठानहरूलाई औद्योगिक तथा वातावरणीय कानुन र मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा औद्योगिक तथा वातावरणीय मापदण्डको उल्लंघन गरेको पाइएमा उद्योग विभाग तथा अन्य सम्बन्धित निकायमार्फत प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

स्थानीयवासी तथा सरोकारवालाहरूले लामो समयदेखि सिर्सिया नदीमा औद्योगिक फोहोरका कारण प्रदूषण बढ्दै गएको भन्दै प्रभावकारी अनुगमन र नियन्त्रणको माग गर्दै आएका छन्।


सम्बन्धित समाचार