२९ जेठ,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा ‘अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा कार्यक्रम’ सञ्चालन गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको छ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले २४ वटै वडा कार्यालयलाई पत्राचार गर्दै आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयसँग समन्वय गरी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो।
शाखा प्रमुख हरिशप्रसाद भट्टद्वारा हस्ताक्षरित पत्रमा आधारभूत तहसम्मको अनिवार्य तथा निःशुल्क तथा माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक बजेट सुनिश्चित गर्न भनिएको छ। विद्यालय सञ्चालनका लागि आवश्यक विद्युत् महसुल, खानेपानी, परीक्षा सञ्चालन, स्टेशनरी तथा अन्य प्रशासनिक खर्च व्यवस्थापनका लागि वडा तहबाट बजेट विनियोजन गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालय भर्ना अभियान सञ्चालन गर्न, विद्यालय तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्य बढाउन पनि वडा कार्यालयहरूलाई निर्देशन दिइएको छ।
उपमहानगरपालिकाले शिक्षा सबै बालबालिकाको पहुँचमा पुर्याउने, विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने तथा स्थानीय तहमा शिक्षाको अधिकार सुनिश्चित गर्ने लक्ष्यसहित उक्त कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।
उपमहानगरपालिकाको यो पहलले विद्यालय भर्नादर वृद्धि गर्नुका साथै अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















