२९ जेठ,काठमाडौं । क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि ‘कार्बोप्लाटिन’ को आपूर्ति सहज बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सहजीकरण गरेको छ।
औषधि व्यवस्था विभागका अनुसार विश्वव्यापी आपूर्ति प्रणालीमा देखिएको अवरोधका कारण देशका विभिन्न क्यान्सर अस्पतालमा उक्त औषधिको अभाव देखिएपछि बिरामीलाई सहज उपलब्धता सुनिश्चित गर्न विशेष समन्वय गरिएको हो।
विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ औषधिको सहज वितरणका लागि सम्पर्क व्यक्ति तोकिएको जानकारी दिए। उनका अनुसार औषधि आपूर्तिकर्ता तथा स्वास्थ्य संस्थाबीच समन्वय गरी वितरण प्रक्रिया सहज बनाइएको छ।
विभागले औषधि उपलब्ध गराउनका लागि जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाडौं, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाडौं, सिजल फर्मा तथा अनमोल हेल्थ केयर काठमाडौंलाई समन्वयका लागि तोकेको जनाएको छ।
यसअघि भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा किमोथेरापीमा प्रयोग हुने उक्त औषधिको अभाव देखिएको थियो।
नेपाल औषधि आपूर्तिकर्ता संघका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभावमा रहेको औषधि बिरामीलाई छिटो उपलब्ध गराउने व्यवस्था मिलाइने बताएका छन्।
सरकारी निकायले औषधि आपूर्ति सहज बनाउने पहल गरेपछि क्यान्सर बिरामीको उपचार निरन्तरता सहज हुने अपेक्षा गरिएको छ।
















