Logo

२९ जेठ,काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामा परी पाँच जनाको मृत्यु, एक जना बेपत्ता र सात जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार सबैभन्दा बढी १२ वटा आगलागीका घटना भएका छन्। यस्तै सात वटा सर्पदंश, पाँच वटा चट्याङ, दुई–दुई वटा पहिरो र नदीजन्य विपद्का घटना तथा एक–एक वटा लेक लाग्ने, केबलकार दुर्घटना, बाढी र जंगल तथा वन्यजन्तुसम्बन्धी घटना भएका छन्।

विपद्का घटनाबाट २२ जिल्ला प्रभावित भएका छन्। प्राधिकरणका अनुसार सर्पदंश, आगलागी, लेक लाग्ने तथा केबलकार दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको हो।

घटनाबाट करिब १८ लाख ८ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

मनसुन नजिकिँदै जाँदा आगलागी, सर्पदंश, चट्याङ र पहिरोजस्ता विपद् बढ्न सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।


सम्बन्धित समाचार