२९ जेठ,वीरगञ्ज । पोखरिया नगरपालिकामा केही कर्मचारी तथा पदाधिकारीको मिलेमतोमा आर्थिक अनियमितता, अवैधानिक जिम्मेवारी वितरण र प्रशासनिक प्रक्रियाको दुरुपयोग भएको आरोप सार्वजनिक भएको छ।
नगरपालिकाका निलम्बित सामाजिक परिचालक सन्दीप साहले आन्तरिक लेखा परीक्षण (आ.ले.प.) पाँचौँ तहका कर्मचारी रामबीर चौरसियालाई आर्थिक चलखेल र राजनीतिक पहुँचका आधारमा लेखा अधिकृतको जिम्मेवारी दिइएको दाबी गरेका छन्। उनका अनुसार यस प्रक्रियामा केही प्रभावशाली व्यक्ति तथा सम्बन्धित निकायका अधिकारीहरूको समेत संलग्नता रहेको छ।
आरोपअनुसार चौरसियाले जिन्सी व्यवस्थापन तथा लेखासम्बन्धी नियमित जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरी विभिन्न भुक्तानी प्रक्रिया अघि बढाएको दाबी गरिएको छ। उनलाई थप जिम्मेवारी दिलाउन रोजगार संयोजक विजय साह तथा अन्य व्यक्तिहरूले राजनीतिक पहुँच र आर्थिक प्रभाव प्रयोग गरेको आरोपसमेत लगाइएको छ।
स्रोतका अनुसार चौरसियालाई छिपहरमाई गाउँपालिकाको समेत अतिरिक्त जिम्मेवारी दिने प्रयास भइरहेको छ। तर प्रचलित प्रशासनिक व्यवस्था अनुसार आन्तरिक लेखा परीक्षण पदमा कार्यरत कर्मचारीलाई आवश्यक प्रक्रिया पूरा नगरी लेखा अधिकृतको जिम्मेवारी दिन नमिल्ने व्यवस्था रहेको बताइन्छ।
त्यसैगरी आर्थिक वर्षको अन्तिम महिनाहरूमा चौरसिया नियमित रूपमा कार्यालयमा उपस्थित नभई रौतहट जिल्लामा कार्यरत लेखा अधिकृत सन्तोष कुशवाहासँग समन्वय गरी नगरपालिकाको कामकाज सञ्चालन गरेको आरोपसमेत उठेको छ।
आरोपमा रोजगार संयोजक विजय साह र अर्बिन्द दुबेले समेत विभिन्न प्रशासनिक तथा आर्थिक गतिविधिमा संलग्नता देखाएको उल्लेख गरिएको छ। रोजगार कार्यक्रमअन्तर्गत खरिद प्रक्रिया तथा वित्तीय गतिविधिमा उनीहरूको भूमिकामाथि प्रश्न उठाइएको छ।
यस्तै, मन्त्रालयबाट हटाइसकिएको भनिएको एक व्यक्तिको म्याद पटक–पटक थप गर्दै आर्थिक तथा राजनीतिक प्रभाव प्रयोग गरिएको आरोपसमेत सार्वजनिक भएको छ। यस घटनाले नगरपालिकाको प्रशासनिक पारदर्शिता, सुशासन र वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको स्थानीयवासीहरूको भनाइ छ।
यद्यपि, समाचारमा उल्लेखित आरोपहरू सम्बन्धित पक्षबाट आधिकारिक रूपमा पुष्टि भएका छैनन्। नगर प्रमुख, सम्बन्धित कर्मचारी तथा अन्य आरोपित व्यक्तिहरूको प्रतिक्रिया आउन बाँकी रहेको छ। आरोपहरूको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरोकारवालाहरूले माग गरेका छन्।
















