Logo

२९ जेठ,काठमाडौं । सुडानको रणनीतिक महत्व बोकेको एल–ओबेद शहरमा भएको ड्रोन आक्रमणमा कम्तीमा २३ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये दुई बालबालिका र एक महिला रहेको समाचार संस्था एएफपीले जनाएको छ।

सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच जारी द्वन्द्वका क्रममा आक्रमणहरू अझ तीव्र बन्दै गएका छन्। पछिल्लो आक्रमणमा आवासीय बस्ती, अन्त्येष्टि सभा तथा खाद्यान्न बोकेका ट्रकसमेत निशानामा परेका छन्।

एल–ओबेद शहरलाई आरएसएफले महिनौँदेखि घेराबन्दीमा राख्दै आएको छ। यो शहर डार्फर क्षेत्रमा आरएसएफको नियन्त्रणमा रहेका भूभाग र सेना–नियन्त्रित क्षेत्रबीचको प्रमुख मार्गमा पर्ने भएकाले रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यस वर्ष जनवरीदेखि अप्रिलसम्म मात्रै सुडानमा भएका ड्रोन आक्रमणमा ८८० भन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ। पछिल्ला महिनाहरूमा कोर्डोफान र ब्लु नाइल क्षेत्रमा लडाइँ थप चर्किएको छ। आरएसएफले पश्चिमी डार्फरस्थित एल–फाशर क्षेत्र कब्जा गरेपछि द्वन्द्वको दायरा अझ फैलिएको बताइएको छ।

तेल भण्डार, उर्वर कृषि भूमि तथा महत्वपूर्ण यातायात मार्गहरू रहेको कोर्डोफान क्षेत्र हाल युद्धको मुख्य केन्द्र बनेको छ। जारी द्वन्द्वका कारण सुडानमा दशौँ हजार मानिसले ज्यान गुमाइसकेका छन् भने एक करोडभन्दा बढी नागरिक विस्थापित भएका छन्।

संयुक्त राष्ट्रसङ्घले सुडानको वर्तमान अवस्थालाई विश्वकै सबैभन्दा ठूलो विस्थापन र भोकमरी संकटमध्ये एकका रूपमा वर्णन गरेको छ।


सम्बन्धित समाचार