३० जेठ,काठमाडौं । बाजुरा र हुम्लाबीचको सीमा विवाद समाधान हुन नसकेपछि विवादित क्षेत्र लाम्पाटामा सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ। गत जेठ २७ गते त्यसतर्फ प्रस्थान गरेको टोली शनिबार सम्बन्धित क्षेत्रमा पुगेको हो।
सुरक्षा निकायका अनुसार उक्त क्षेत्रमा अब अस्थायी सुरक्षा बेस स्थापना गरिनेछ। सो बेसमा खटिने सुरक्षाकर्मीलाई आवश्यक निर्देशन तथा समन्वय सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट गरिने जनाइएको छ।
सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले सीमा क्षेत्रमा सुरक्षा अवस्था सुदृढ बनाउने र सम्भावित तनाव नियन्त्रणमा सहयोग गर्नेछ। पछिल्ला केही दिनयता बाजुरा र हुम्लाको सीमा निर्धारणलाई लिएर स्थानीय तहबीच विवाद चर्किँदै गएको थियो।
यसैबीच, शुक्रबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त केन्द्रीय सुरक्षा बेस स्थापना गर्ने निर्णय गरेको थियो।
सरकारले विवादित क्षेत्रमा सुरक्षा उपस्थिति बढाएर शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले संयुक्त सुरक्षा व्यवस्था लागू गरेको जनाएको छ। सीमा विवाद समाधानका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र संवादको प्रक्रिया पनि अघि बढाइने बताइएको छ।
















