Logo

३० जेठ,काठमाडौं । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने तथा आकर्षक तलबको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले सुर्खेत घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ३४ वर्षीय सुनिल पौडेल, सिन्धुपाल्चोक घर भई भक्तपुर बस्ने २२ वर्षीय अनुप भण्डारी, जाजरकोट घर भई ललितपुर बस्ने ३४ वर्षीया कबिता सिंह तथा धादिङ घर भई काठमाडौं चन्द्रागिरी बस्ने २५ वर्षीय बिशु राईलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले पीडितहरूलाई पोल्याण्ड, कुक आइसल्याण्ड, अमेरिका र क्रोएसियामा आकर्षक रोजगारी दिलाइदिने आश्वासन दिएर ठूलो रकम असुलेपछि सम्पर्कविहीन भएका थिए।

अनुसन्धानका क्रममा सुनिल पौडेलले पोल्याण्ड पठाइदिने भन्दै तीन जनाबाट २४ लाख १७ हजार रुपैयाँ, अनुप भण्डारीले कुक आइसल्याण्ड पठाइदिने बहानामा एक जनाबाट ३५ लाख ५० हजार रुपैयाँ, कबिता सिंहले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ३ लाख ७२ हजार रुपैयाँ तथा बिशु राईले क्रोएसिया पठाइदिने प्रलोभनमा चार जनाबाट ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।

पीडितहरूको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार सुनिल पौडेललाई बुढानिलकण्ठ र अनुप भण्डारीलाई काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरेको थियो। त्यसैगरी शुक्रबार कबिता सिंहलाई ललितपुरबाट तथा बिशु राईलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ। प्रहरीले वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई आधिकारिक प्रक्रिया र स्वीकृत म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।


सम्बन्धित समाचार
भर्खरै