Logo

३० जेठ,काठमाडौं । आयोजक अमेरिका फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गर्न सफल भएको छ। शनिबार बिहान लस एन्जलस स्टेडियममा सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

अमेरिकाको जितमा फोलारिन बालोगुनले दुई गोल गरे भने जियोभानी रेयनाले एक गोल थपे। अमेरिकाले एक गोल आत्मघाती उपहारका रूपमा प्राप्त गरेको थियो। पाराग्वेका लागि मौरिसियोले एकमात्र सान्त्वना गोल गरे।

खेलको सातौं मिनेटमै अमेरिकाले अग्रता लिएको थियो। स्टन म्याकेनीको प्रहार रोक्ने क्रममा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले बल आफ्नै पोस्टमा छिराएपछि अमेरिका १–० ले अघि बढेको थियो।

त्यसपछि ३१औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा बालोगुनले व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई ३–० को बलियो अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा पाराग्वेका मौरिसियोले ७१औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन। खेलको इन्जुरी समयको अन्तिम मिनेटमा जियोभानी रेयनाले गोल गर्दै अमेरिकाको ४–१ को प्रभावशाली जित सुनिश्चित गरे।

यस जितसँगै अमेरिकाले समूह ‘डी’ मा महत्वपूर्ण तीन अंक जोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ। उक्त समूहमा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्।

यसअघि शनिबार नै सम्पन्न अर्को खेलमा क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए।


सम्बन्धित समाचार
भर्खरै