४ जेठ, काठमाडौं । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) विगत १० वर्षदेखि नवीकरण नभएको र कानुनी रूपमा स्वतः रद्द भइसकेको खुलासा भएको छ ।
यातायात व्यवस्था कार्यालय, इटहरीको आधिकारिक अभिलेखअनुसार साम्पाङले आफ्नो ‘ए’ श्रेणीको लाइसेन्स अन्तिम पटक २०७१ पुस ६ गते नवीकरण गराएका थिए । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५७ को प्रावधानअनुसार तोकिएको अवधिभित्र नवीकरण नभएको लाइसेन्स स्वतः रद्द हुने व्यवस्था छ । सोही आधारमा साम्पाङको लाइसेन्स २०७३ पुस १२ गते नै म्याद समाप्त भई हाल पूर्ण रूपमा अवैध अवस्थामा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
सांसद साम्पाङको लाइसेन्सको वैधता समाप्त भएको विषय तब सतहमा आयो, जब जेठ २९ गते उदयपुरमा उनले चलाएको मोटरसाइकल कारबाहीको दायरामा पर्यो । मदन भण्डारी लोकमार्गमा एक हातले मोटरसाइकलको ह्यान्डल समाती अर्को हातले मोबाइलमार्फत भिडियो खिच्दै गरेको दृश्य सार्वजनिक भएपछि ट्राफिक प्रहरीले उनलाई जरिवानासहितको ‘चिट’ काटेको थियो ।
सामाजिक सञ्जालमा उक्त घटनाको चौतर्फी आलोचना भएपछि ट्राफिक प्रहरीले गरेको छानबिनका क्रममा उनी १० वर्षदेखि नवीकरणविहीन लाइसेन्स बोकेर सवारी चलाइरहेको तथ्य फेला परेको हो ।
कानुनी रूपमा म्याद सकिएको ५ वर्षभित्र जरिवाना तिरेर नवीकरण गर्ने सुविधा रहे पनि साम्पाङले सो अवधिभित्र समेत कुनै प्रक्रिया अगाडि नबढाएको पाइएको छ। एक बहालवाला सांसद नै लामो समयदेखि अवैध लाइसेन्सका आधारमा सवारी साधन चलाइरहेको घटनाले कानुनको शासन र जनप्रतिनिधिको जिम्मेवारीलाई लिएर गम्भीर प्रश्न खडा गरेको छ ।
हाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले यस विषयमा थप कानुनी परामर्श र छानबिन अगाडि बढाएको जनाएको छ । लाइसेन्सविहीन अवस्थामा सवारी चलाउनु गैरकानुनी कार्य भएको र कानुन बनाउने थलोमै बस्ने व्यक्तिबाटै यस प्रकारको लापरबाही हुनुलाई निकै चासो र आलोचनाका साथ हेरिएको छ ।
















