४ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न यस पटक प्रतिशोधको भावनाका साथ पूर्ण तयारीमा जुटेको बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले विगतमा प्राकृतिक विपद्ले नागरिकलाई दिएको दुःखको बदला लिने गरी सरकारले तयारी गरिरहेको जिकिर गरे । उनले औपचारिकता र मन्त्रीको निरीक्षणभन्दा नागरिकको प्रत्यक्ष ज्यान बचाउने कार्यलाई प्राथमिकतामा राख्दै हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधन तयारी अवस्थामा राखिएको जानकारी दिए ।
विपद् व्यवस्थापनलाई थप चुस्त बनाउन यस पटक सरकारले प्रविधिको प्रयोगमा विशेष जोड दिएको छ। विशेष गरी मनसुनमा बाढी र पहिरोले मुख्य राजमार्ग र सडक खण्ड अवरुद्ध हुने जोखिमलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा एउटा ‘डिजिटल एप’ विकास गरिएको छ ।
राइड सेयरिङ एपमा चालकको लोकेसन थाहा पाए जस्तै, सडक अवरुद्ध भएको स्थानमा नजिकै रहेका डोजर र अन्य उपकरणहरूको लोकेसन पत्ता लगाई तत्काल उद्धार कार्य थाल्न यो प्रणालीले मद्दत गर्ने गृहमन्त्री गुरुङले बताएका छन् ।
अघिल्ला सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै विगतका कमजोरी सुधार्ने दृढता व्यक्त गर्दै मन्त्री गुरुङले भने, ‘विगतमा जसरी विपद्ले हामीलाई दुःख दियो, यसपालि त्यही अनुसार प्रतिशोध साँधेर हामी रेस्पोन्ड गर्ने तयारीमा छौँ।’
सुरक्षा निकायलाई नागरिकमैत्री सेवा प्रदान गर्न र संकटको घडीमा छिटोभन्दा छिटो एक्सनमा उत्रन स्पष्ट निर्देशन दिइएको पनि उनले बताएका छन् । विगतका भोगाइहरूबाट पाठ सिक्दै यस पटक मनसुनमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी संयन्त्र निर्माण गरिएको उनको दाबी छ ।
















