६ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।
संवैधानिक तथा कानुनी रूपमा रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ स्वयं प्रधानमन्त्रीले दिनुपर्ने भए पनि सो जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई सुम्पिएको छ ।
प्रधानमन्त्रीको अनुपस्थितिमा संसदमा अर्थमन्त्रीले नै जवाफ दिने यो सिलसिला पहिलो पटक भने होइन । यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले नै संसदलाई सम्बोधन गर्दै जवाफ दिएका थिए ।
नीति तथा कार्यक्रमपछि बजेटमाथिको छलफलमा पनि प्रधानमन्त्रीले आफ्नो आधिकारिक प्रतिनिधि वा मन्त्रीको रूपमा वाग्लेलाई नै अघि सार्नुले संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहितालाई लिएर पुनः चर्चा सुरु भएको छ ।
आजको कार्यसूची अनुसार, अर्थमन्त्री वाग्लेले आफ्नै मन्त्रालयका साथै प्रधानमन्त्रीले सम्हालेका निकायहरूको बजेटमाथिका जिज्ञासाहरूको जवाफ दिनेछन् । प्रधानमन्त्रीले आफ्नो तर्फबाट जवाफ दिने सम्पूर्ण जिम्मेवारी अर्थमन्त्रीलाई हस्तान्तरण गरेपछि, संसदमा उठेका नीतिगत र बजेटरी प्रश्नहरूको जवाफ दिने दायित्व पूर्ण रूपमा वाग्लेको काँधमा आएको छ । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने मन्त्रालयहरूको जिम्मेवारी अर्थमन्त्रीले सम्हाल्दा यसले संसदमा कस्तो सन्देश दिन्छ, त्यो भने हेर्न बाँकी नै छ ।
















