६ असार, काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा मन्त्रीहरूले नै संसदीय मर्यादा र नियमावलीको गम्भीर उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कडा आपत्ति जनाएको छ ।
बैठकमा नेकपाका सांसद रमेश मल्लले आफ्नो धारणा राखिरहेका बेला दुई जना मन्त्रीहरू सभामुखको आसन र बोलिरहेका सांसदको बिचबाट हिँडेपछि एमाले प्रमुख सचेतक ऐन महरले नियमापत्ति जनाएका हुन् ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को खण्ड (६) मा सभामुखको आसन र बोलिरहेको सदस्यको बिचबाट हिँड्न नपाइने स्पष्ट व्यवस्था भए पनि मन्त्रीहरूले नै त्यसको धज्जी उडाएको भन्दै महरले असन्तुष्टि पोखेका छन् । मन्त्रीहरूको उक्त व्यवहारले संसद्को गरिमा र मर्यादामा आँच पुर्याएको बताउँदै उनले यस प्रकारको हर्कतको निन्दा गरेका छन् ।
संसद्को मर्यादा कायम राख्न सरकार थप जिम्मेवार हुनुपर्नेमा उल्टै मन्त्रीहरूबाटै नियमको उल्लंघन हुनु दुःखद भएको भन्दै एमाले प्रमुख सचेतक महरले सभामुखसँग स्पष्ट ‘रुलिङ’ को माग गरेका छन् ।
मन्त्रीहरूको यो लापरबाहीपूर्ण कार्यप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उनले आगामी दिनमा यस्ता दृश्य दोहोरिन नहुने र नियमको पालनामा सबैले अनुशासन कायम राख्नुपर्नेमा जोड दिएका छन् ।
















