Logo

४ असार, जनकपुरधाम । मधेस प्रदेशका बासिन्दा यतिखेर उखरमाउलो गर्मी र नेपाल विद्युत् प्राधिकरणको अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका छन् । अत्यधिक गर्मीका बेला बिनासूचना बारम्बार हुने अघोषित विद्युत् कटौती (लोडेडसेडिङ) ले प्रादेशिक राजधानी जनकपुरधामसहित समग्र मधेसकै जनजीवन कष्टकर बनेको छ भने नागरिकमा आक्रोश चुलिँदै गएको छ ।

विद्युत् आपूर्ति ठप्प हुँदा सर्वसाधारणले पङ्खा र कुलर समेत चलाउन पाएका छैनन्, जसका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । अघोषित कटौतीले घरायसी कामकाज मात्र नभई व्यापार व्यवसाय, स्वास्थ्य सेवा र दैनिक जीवन नै गम्भीर रूपमा ठप्प पारेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका–२ का जानकी साह पटक-पटक लाइन काटिने प्रवृत्तिबाट दिक्क भइसकेको गुनासो गर्छन् । “वितरण केन्द्रमा फोन गर्दा प्राविधिक समस्या देखाउँदै मर्मत भइरहेको एउटै रेडिमेड जवाफ मात्र आउँछ,” उनले भने । जलेश्वरकै राजु पाण्डे र सुरेश झाले प्राधिकरण नागरिकलाई अन्धकारमा राखेर आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै नियमित मर्मतसम्भार र पूर्वसूचना प्रवाहको माग गरेका छन् ।

यता प्रादेशिक राजधानी जनकपुरधामको अवस्था पनि उस्तै छ । जनकपुरधाम–८ का रोशन राउत र वडा नम्बर १० का निकेश कर्णले पूर्वजानकारी बिना झ्याप्प-झ्याप्प लाइन काटिँदा घरका महँगा विद्युतीय उपकरणहरू बिग्रिने जोखिम बढेको भन्दै आक्रोश व्यक्त गरे ।

उपभोक्ताको यो आक्रोशबारे जलेश्वर वितरण केन्द्रका प्रमुख इन्जिनियर रोशन कुमार सिंहले नागरिकको गुनासो जायज भएको स्वीकारेका छन् । तर, समस्या समाधानमा केही व्यावहारिक कठिनाइ रहेको उनको तर्क छ ।

“हामी रौजामा नयाँ ट्रान्सफर्मर जडान गर्न खोजिरहेका छौँ, तर स्थानीयको सहयोग नपाउँदा काम प्रभावित भएको छ,” सिंहले भने । हाल बाटो विस्तार र अत्यधिक मागका कारण एउटै ३३ केभी स्रोतमा निर्भर रहनुपरेकाले समस्या आएको र अर्को स्रोत थपिएपछि समस्या घट्ने उनले दाबी गरे ।

मधेस प्रदेशमा कुल २३ वटा वितरण केन्द्रमार्फत विद्युत् प्रवाह भइरहेको छ । प्राधिकरणको मधेस प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियैत यादवले अत्यधिक गर्मीका कारण ट्रान्सफर्मर तथा मेसिनहरू तातेर बिग्रने गरेको र पुराना संरचनाले लोड धान्न नसकेको बताए ।

यादवले यो समस्याको दीर्घकालीन समाधानका लागि प्रदेशभर करिब ४ अर्ब रुपैयाँको लगानीमा ५२५ वटा नयाँ ट्रान्सफर्मर जडान गर्ने ठुलो परियोजना सुरु भइसकेको जानकारी दिए ।

उपभोक्ताका गुनासा सुन्न आफू राति १२ बजेसम्म कल सेन्टरमै खटिने गरेको दाबी गर्दै उनले आगामी दिनमा सेवामा थप सुधार आउने आश्वासन दिएका छन् । करिब ६४ लाख जनसंख्या भएको मधेसमा विद्युत् सेवाको नियमितता उद्योग, शिक्षा र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले नागरिकले तत्काल भरपर्दो आपूर्तिको माग गरिरहेका छन् ।


सम्बन्धित समाचार