Logo

३ असार, काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले मुलुकमा पछिल्लो समय देखिएका राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन र नागरिक अधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ।

बुधबार जारी संयुक्त प्रेस विज्ञप्तिमा सञ्जालले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको रक्षा राज्य सञ्चालनका आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै वर्तमान शासन सञ्चालनका केही प्रवृत्तिले ती मान्यतालाई संस्थागत रूपमा कमजोर बनाउने जोखिम देखिएको जनाएको छ।

विज्ञप्तिमा लोकतन्त्रलाई केवल निर्वाचनमार्फत प्राप्त बहुमतको शासनका रूपमा मात्र बुझ्न नहुने उल्लेख गर्दै संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता तथा विधिको शासन लोकतान्त्रिक व्यवस्थाका मूल आधार भएको स्मरण गराइएको छ।

पापडले पछिल्लो समय सुकुम्वासी बस्ती हटाउने क्रममा अपनाइएका अभ्यास, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि असर पार्न सक्ने गतिविधि, संसद्को प्रभावकारी भूमिका सीमित गर्ने प्रवृत्ति तथा नागरिक अधिकार संकुचन गर्ने प्रयासप्रति असन्तुष्टि जनाएको छ। त्यस्तै प्रेस स्वतन्त्रता र सूचनाको हकमाथि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने गरी सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गरिएका घटनाप्रति पनि सञ्जालले आपत्ति जनाएको छ।

सञ्जालले संविधानप्रदत्त पेशागत तथा ट्रेड युनियन अधिकारमाथि नियन्त्रणमुखी व्यवहार देखिएको, विश्वविद्यालयहरूको स्वायत्ततामाथि हस्तक्षेप बढेको तथा शिक्षा र स्वास्थ्य क्षेत्र नीतिगत अन्योलमा परेको दाबी गरेको छ। साथै आम नागरिकको जीविकोपार्जन, रोजगारी, व्यवसाय र सम्मानजनक जीवनयापनमा नकारात्मक असर पर्ने खालका निर्णयप्रति पनि गम्भीर चासो व्यक्त गरेको छ।

विज्ञप्तिमार्फत पापडमा आबद्ध संस्थाहरूले सरकारलाई नागरिक सर्वोच्चता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संविधानको अक्षर र भावनाको सम्मान गर्न आग्रह गरेका छन्। उनीहरूले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, न्यायपालिकाको स्वतन्त्रता र नागरिक अधिकारको संरक्षण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सञ्जालले लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाका लागि लोकतन्त्रवादी राजनीतिक शक्ति, पेशागत संगठन, सञ्चार क्षेत्र, शैक्षिक समुदाय तथा नागरिक समाजलाई साझा रूपमा उभिन पनि आह्वान गरेको छ।

यसैबीच, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि अंकुश लगाउने सरकारी प्रयासको विरोधमा नेपाल पत्रकार महासंघले असार ५ गते काठमाडौंको माइतीघरमा आयोजना गर्ने र्‍यालीप्रति पापडले ऐक्यबद्धता जनाएको छ। सञ्जालले उक्त कार्यक्रममा सहभागी भई लोकतान्त्रिक अधिकारको पक्षमा आवाज उठाउन सबै सरोकारवालालाई आग्रह गरेको छ।

पापडको विज्ञप्तिमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा।डा। रमेशकुमार जोशी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले हस्ताक्षर गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै