Logo

३ असार,वीरगञ्ज । समाचार प्रकाशन गरेको विषयलाई लिएर सञ्चारकर्मीमाथि धम्की, दुव्र्यवहार तथा मानसिक दबाब सिर्जना गरिएको आरोपमा यात्रा डेली प्रालि ले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेको छ। संस्थाले हेयर ट्याग सैलुन सँग आबद्ध व्यक्तिहरू, विशेषगरी हरिकिशोर साह लाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।

यात्रा डेलीका सञ्चालक राम सर्राफ का अनुसार असार २ गते प्रकाशित “वीरगञ्जका चार ब्युटी पार्लरमाथि कारबाही” शीर्षकको समाचारप्रति असन्तुष्टि जनाउँदै करिब ८ देखि १० जनाको समूह कार्यालयमा प्रवेश गरेको थियो। उक्त समूहले सञ्चारकर्मी तथा कर्मचारीमाथि गालीगलौज, दुव्र्यवहार र आक्रमणको प्रयाससमेत गरेको आरोप लगाइएको छ।

उजुरीअनुसार समाचारमा आफ्नो सैलुनको नाम उल्लेख गरिएको विषयलाई लिएर हरिकिशोर साहसहितका व्यक्तिहरू कार्यालयमा पुगेका थिए। उनीहरूले सञ्चारकर्मीमाथि धम्कीपूर्ण व्यवहार गर्नुका साथै समाचार हटाउन पटक–पटक फोनमार्फत दबाब दिएको दाबी गरिएको छ।

यात्रा डेलीले कार्यालयमै पुगेर धम्की दिने, कुटपिटको चेतावनी दिने तथा समूहसहित कार्यालय परिसरमा उपस्थित भई त्रासपूर्ण वातावरण सिर्जना गरिएको उल्लेख गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ। साथै पत्रकार तथा कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्न पनि प्रशासनसँग आग्रह गरेको छ।

उजुरीबारे प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय पर्सा का सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले उजुरी दर्ता भइसकेको र घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान प्रक्रिया सुरु गरिएको जानकारी दिए।

उनले समाचारप्रति असन्तुष्टि भए कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै धम्की, दुव्र्यवहार वा दबाब सिर्जना गर्ने कार्य स्वीकार्य नहुने बताए। प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै