३ असार, (माडी) चितवन । माडीको घना जंगलभित्र लुकेको धनलक्ष्मी झरना अहिले केवल प्राकृतिक सौन्दर्यको केन्द्र मात्र होइन, सम्भावित ऐतिहासिक रहस्यको खोजीस्थलका रूपमा चर्चामा आएको छ। केही साताअघि झरना आसपास जमिनमुनि दबिएका ढुङ्गाका खम्बा र चक्राकार शिलाचिन्ह फेला परेपछि यस क्षेत्रप्रति स्थानीयदेखि पुरातत्वविद् र पर्यटनकर्मीहरूको चासो बढ्दै गएको छ।
यही बढ्दो चासोका बीच बुधबार माडी नगरपालिका र माडी प्रज्ञा प्रतिष्ठानले “हिँडौं प्रकृतिसँग, जोडिऔं पर्यटनसँग” भन्ने नारासहित बैकुण्ठ तालदेखि धनलक्ष्मी झरनासम्म विशेष पदयात्राको आयोजना गरे। पदयात्रा केवल भ्रमणमा सीमित रहेन, बरु माडीको माटोभित्र लुकेको हुन सक्ने हजारौं वर्ष पुरानो इतिहासको सम्भावित संकेत खोज्ने प्रयासका रूपमा समेत हेरियो।
बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री विजय सुवेदी, माडी नगरपालिकाकी नगर प्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, विभिन्न जनप्रतिनिधि, माडी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार, पर्यटनकर्मी, साहित्यकार, अनुसन्धानमा रुचि राख्ने व्यक्तित्व तथा स्थानीयवासी गरी करिब ७० जनाको टोली पदयात्रामा सहभागी भएको थियो।
बैकुण्ठधाम क्षेत्र धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ। राम–सीता–लक्ष्मण तथा भरतको वनवाससँग जोडिएको जनविश्वासका कारण यहाँ वर्षौंदेखि धार्मिक गतिविधि सञ्चालन हुँदै आएका छन्। तर पछिल्ला दिनमा फेला परेका केही ढुङ्गाका संरचनाले यो क्षेत्र केवल धार्मिक महत्वको मात्र नभई पुरातात्विक दृष्टिले समेत महत्वपूर्ण हुन सक्ने संकेत दिएको छ ।
पदयात्रा टोलीले बैकुण्ठधामका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गर्दै माडीकै उत्तरवाहिनी नदी क्षेत्रमा रहेको सबैभन्दा अग्लो झरनाका रूपमा चिनिने धनलक्ष्मी झरनासम्म पुगेर सम्भावित पुरातात्विक अवशेषहरूको निरीक्षण गरेको थियो।
झरनाको आसपास देखिएका ढुङ्गाका खम्बा, गोलाकार शिलाचिन्ह र जमिनभित्र दबिएका संरचनाहरूले त्यहाँ कुनै समय मानव बस्ती, धार्मिक केन्द्र वा विशेष सभ्यता अस्तित्वमा रहेको हुन सक्ने अनुमानलाई बल पुर्याएको सहभागीहरूको धारणा थियो।
‘माडी जीवित संग्रहालय हो’
माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले माडीलाई केवल धार्मिक भूमि भनेर बुझ्नु अपूरो हुने बताए। उनका अनुसार माडी क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र सम्भावित पुरातात्विक सम्पदाले भरिएको एउटा विशाल जीवित संग्रहालय हो।
धनलक्ष्मी झरना क्षेत्र आसपास भेटिएका ढुङ्गाका खम्बा र चक्राकार शिलाचिन्ह सामान्य घटना होइनन्, उनले भने, “यसले यहाँ कुनै पुरानो सभ्यता, धार्मिक केन्द्र वा ऐतिहासिक संरचना रहेको हुन सक्ने सम्भावनालाई थप बल दिएको छ।” सापकोटाले वैज्ञानिक अनुसन्धान, संरक्षण र प्रचारप्रसारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै माडीलाई भविष्यमा खुला संग्रहालय तथा अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे।
माडी नगरपालिकाकी नगर प्रमुख ताराकुमारी काजी महतोले दोस्रो कार्यकालसम्म आइपुग्दा पनि आफू धनलक्ष्मी झरनामा पहिलोपटक पुगेको बताइन्। उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट धेरै सुनेको भए पनि प्रत्यक्ष अवलोकनपछि क्षेत्रको महत्वबारे अझ स्पष्ट भएको प्रतिक्रिया दिइन्। “यो केवल एउटा झरना होइन, प्रकृति, धर्म र सम्भावित इतिहासको संगम रहेछ,” उनले भनिन्।
उनले हाल झरनासम्म पुग्न खोलाको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै जंगलको पाखाबाट सुरक्षित र सहज पहुँच मार्ग निर्माणका लागि नगरपालिका गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरिन्। उनका अनुसार शान्त वातावरण, प्राकृतिक सुन्दरता र धार्मिक महत्वका कारण यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना छ।
माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले आफूले रेस खबरमा प्रकाशित समाचारमार्फत ढुङ्गाका खम्बा र चक्राकार शिलाचिन्हबारे जानकारी पाएको बताए। उनले उक्त विषयलाई गम्भीर रूपमा लिएर पुरातत्व विभागसँग सम्पर्क गरिसकेको जानकारी दिए।
“यदि अनुसन्धानले यसको ऐतिहासिक महत्व पुष्टि गर्यो भने माडीको धार्मिक तथा सांस्कृतिक पर्यटनमा नयाँ अध्याय सुरु हुनेछ,” उनले भने। भुसालका अनुसार नगरपालिका स्थापना भएयता आफू १३औँ प्रमुख प्रशासकीय अधिकृत भए पनि यसअघि कुनै प्रमुख प्रशासकीय अधिकृत धनलक्ष्मी झरनासम्म पुगेको जानकारी आफूले नपाएको बताए।

यहाँ कुनै सभ्यता थियो कि ?
पूर्व सामाजिक विकासमन्त्री विजय सुवेदीले धनलक्ष्मी झरनाको भूगोल र भू–बनोटले आफूलाई निकै उत्सुक बनाएको बताए। २०४२ सालमै बैकुण्ठधाम पुगेको स्मरण गर्दै उनले धनलक्ष्मी झरनाको प्रत्यक्ष अवलोकन भने पहिलोपटक गरेको बताए। झरनाको आसपासको संरचना हेर्दा विगतमा यहाँ मानव बस्ती, धार्मिक गतिविधि वा कुनै विशेष सभ्यताको अस्तित्व रहेको हुन सक्ने संकेत देखिएको उनको भनाइ थियो।
“यहाँ कुनै समय मेला लाग्थ्यो कि, धार्मिक अनुष्ठान हुन्थ्यो कि, वा स्थायी बसोबास थियो कि भन्ने विषयमा गहिरो अनुसन्धान आवश्यक छ,” उनले भने। सुवेदीले धनलक्ष्मी झरनादेखि बैकुण्ठ तालसम्म जल संरचनाहरू विकास गरी तालहरूको श्रृंखला निर्माण गर्न सके यस क्षेत्रको पर्यटकीय महत्व अझ बढ्न सक्ने सुझाव पनि दिए।
कार्यक्रममा चरा विज्ञ कमल अधिकारी, बैकुण्ठधाम क्षेत्र विकास तथा व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियार तथा पत्रकार रमेश पौडेलले पनि आफ्नो धारणा राख्दै यस क्षेत्रको संरक्षण, अनुसन्धान र प्रवर्द्धनमा जोड दिएका थिए।
गत जेठ ३० गते बैकुण्ठधाम क्षेत्र विकास समितिको अगुवाइमा गरिएको सरसफाइ अभियानका क्रममा पहिलोपटक ती संरचनाहरू देखिएका थिए। त्यसपछि सार्वजनिक भएका समाचार र तस्बिरहरूले स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म बहस सुरु गराएको छ।
माडीका लागि नयाँ सम्भावनाको ढोका
हालसम्म फेला परेका ढुङ्गाका खम्बा र चक्राकार शिलाचिन्हको वास्तविकता के हो भन्ने प्रश्नको उत्तर अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ। तर प्रारम्भिक रूपमा देखिएका संकेतहरूले माडीको महत्वलाई नयाँ कोणबाट हेर्ने आधार भने दिएको छ।
यदि भविष्यमा वैज्ञानिक उत्खनन र अध्ययनले यी संरचनाहरू कुनै प्राचीन सभ्यता, धार्मिक केन्द्र वा ऐतिहासिक बसोबाससँग सम्बन्धित रहेको पुष्टि गर्यो भने माडीको पहिचानमा ठूलो परिवर्तन आउन सक्छ। त्यो अवस्थामा बैकुण्ठधाम र धनलक्ष्मी झरना केवल धार्मिक पर्यटनको केन्द्र मात्र नभई नेपालको महत्वपूर्ण पुरातात्विक अनुसन्धानस्थलका रूपमा स्थापित हुन सक्नेछन्।
अहिलेका लागि धनलक्ष्मी झरना प्रकृतिको काखमा रहेको एउटा सुन्दर गन्तव्य हो। तर जमिनमुनि दबिएका ढुङ्गाका खम्बा र चक्राकार शिलाचिन्हहरूले भने माडीको माटोभित्र अझै धेरै इतिहास निदाइरहेको संकेत गरिरहेका छन्। अब त्यो इतिहासलाई उजागर गर्ने जिम्मेवारी पुरातत्वविद्, अनुसन्धान संस्था र राज्यका सम्बन्धित निकायको काँधमा पुगेको छ।

















