Logo

३ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीका सम्बन्धमा अनुसन्धानमा सघाउने भन्दै नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल फर्किने वातावरण मिलाइदिन पत्राचार गरेका छन् ।

उपचारका क्रममा हाल मुलुकबाहिर रहेका देउवा दम्पतीले इमेल र कुरियरमार्फत विभागलाई पत्राचार गर्दै आफूहरू अनुसन्धानबाट भागेको नभई स्वास्थ्य उपचारमा रहेको प्रष्ट पार्दै सहज रूपमा नेपाल प्रवेश गर्ने परिस्थिति बनाइदिन आग्रह गरेका हुन् ।

उपचार र नेपाल फिर्तीको तयारी

देउवाका स्वकीय सचिव भानु देउवाले यसको पुष्टि गर्दै देउवा दम्पती साउनको अन्तिमसम्म नेपाल आइपुग्ने जानकारी दिएका छन्। भदौ २४ गतेको आन्दोलनका क्रममा गम्भीर घाइते भई उपचाररत उनीहरूलाई थप केही साता अस्पतालको ‘फलोअप’ मा बस्नुपर्ने भएकाले तत्काल फर्किन ढिलाइ भएको बताइएको छ ।

फागुन र चैत महिनामा फरक–फरक मितिमा उपचारका लागि सिङ्गापुर र हङकङ प्रस्थान गरेका देउवा दम्पती स्वास्थ्य लाभ गरेपछि साउनको अन्तिम साता स्वदेश फर्किने तय भएको छ ।

अदालतको आदेश र पक्राउ पुर्जीको अन्योल

यसअघि विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो, तर देउवा दम्पतीले क्षेत्राधिकारको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले जेठ ११ गते विशेष अदालतको साटो जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा कारबाही नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ ।

साथै, इन्टरपोलले समेत हालसम्म रेड कर्नर नोटिस जारी नगरेका कारण उनीहरू फर्किने बेलामा तत्काल पक्राउ गर्ने कानुनी आधार नरहेको विभागका अधिकारीहरूको बुझाइ छ ।

अनुसन्धानमा सहयोग गर्ने प्रतिज्ञा

देउवा दम्पतीले पठाएको पत्रमा आफूहरू देश छाडी भागेको वा अनुसन्धान छलेको भन्ने भाष्य खडा नगर्न आग्रह गर्दै अनुसन्धानमा सदाशयतापूर्वक सहयोग गर्न तत्पर रहेको उल्लेख छ । यस निवेदनको बोधार्थ विशेष अदालतलाई समेत दिइएको छ ।

कानुनी रूपमा पक्राउ पुर्जी खारेज भइसकेको अवस्थामा देउवा दम्पतीको यो पत्राचारले लामो समयदेखि जारी रहेको उक्त मुद्दालाई अब नयाँ मोडमा पुर्‍याउने अनुमान गरिएको छ । यद्यपि, विशेष अदालतले पक्राउको अनुमति दिएको खण्डमा मात्रै विभागले प्रक्रिया अघि बढाउन सक्ने कानुनी प्रावधान कायमै छ ।


सम्बन्धित समाचार