३ असार, सखुवा प्रसौनी। सखुवा प्रसौनी गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशन गाउँपालिका अध्यक्ष जस्वन्त यादवको अध्यक्षतामा सम्पन्न भएको छ। गाउँपालिका कार्यालय परिसरमा आयोजित अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो।
गाउँसभामा विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य तथा गाउँसभा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गाउँपालिका उपाध्यक्ष शर्मिला विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
गाउँपालिका अध्यक्ष जस्वन्त यादवले आगामी वर्षमा सामुदायिक विद्यालयहरूको प्रारम्भिक तहमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिने तथा प्राविधिक शिक्षालाई थप प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो। साथै, बेरोजगार युवा-युवतीलाई लक्षित गरी सीपमूलक तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिने नीति लिइएको उहाँले जानकारी दिनुभयो।
कृषि, स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउने लक्ष्यसहित विभिन्न विकास योजनाहरू कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ।
यसैबीच, गाउँपालिकाका लेखा प्रमुख सुमन शाहले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४६ करोड ३७ लाख ८२ हजार ५ सय २० रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो।
प्रस्तुत बजेटअनुसार आम्दानी तथा अनुदानका प्रमुख स्रोतहरूमा सशर्त अनुदानबाट २१ करोड १६ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ११ करोड ६४ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ११ करोड १३ लाख २० हजार ५ सय २० रुपैयाँ, समपूरक अनुदानबाट १ करोड ४५ लाख रुपैयाँ, आन्तरिक स्रोतबाट ५३ लाख रुपैयाँ तथा विशेष अनुदानबाट ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
कार्यक्रमको प्रारम्भमा प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रशासन शाखा प्रमुख अरविन्द ठाकुरले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख विनोदप्रसाद यादवले गर्नुभएको थियो।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, कृषि, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई केन्द्रमा राखेर समृद्ध स्थानीय शासनको लक्ष्यसहित नीति तथा कार्यक्रम अघि सारेको जनाएको छ।
















