Logo

१० असार,वीरगञ्ज । ‘फलफूलको राजा’ मानिने आँपको उत्पादन यस वर्ष पर्सामा बढेको छ। तर उत्पादन बढ्दासमेत बजारमा आँपको मूल्य भने घट्नुको सट्टा झन् महँगिएको छ। सदरमुकाम वीरगञ्जदेखि पोखरिया, ठोरी, सखुवा प्रसौनी, बहुदरमाईलगायतका बजारमा अहिले आँप प्रतिकिलो १०० रुपैयाँदेखि १४० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

सामान्यतया उत्पादन बढेपछि मूल्य घट्ने अपेक्षा गरिन्छ। तर यस वर्ष पर्सामा अवस्था उल्टो देखिएको छ। कृषि ज्ञान केन्द्र पर्साका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा आँप उत्पादन करिब २.८१ प्रतिशतले बढेको छ। जिल्लाभर ४ सय ४७ हेक्टर क्षेत्रफलमा गरिएको आँप खेतीबाट यस वर्ष ५ हजार ९ सय ६३ मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष यही क्षेत्रफलबाट ५ हजार ८ सय मेट्रिक टन आँप उत्पादन भएको थियो।

कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाका अनुसार उत्पादनमा वृद्धि भए पनि बजारमा मूल्य बढ्नुका पछाडि विभिन्न कारण छन्। विशेषगरी भारतीय आँप आयातबारे सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण प्रचारले बजारमा प्रत्यक्ष असर पारेको उनको भनाइ छ।

गत वर्षसम्म आँपको सिजन सुरु भएसँगै भारतीय बजारबाट ठूलो परिमाणमा सस्तो आँप नेपाल भित्रिने गर्थ्यो। भारतीय आँपको आपूर्तिले नेपाली बजारमा मूल्य नियन्त्रण गर्न भूमिका खेल्थ्यो। तर पछिल्ला केही सातादेखि सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा ‘भारतबाट आउने आँपमा अत्यधिक विषादी भेटिएकाले सरकारले आयातमा प्रतिबन्ध लगाएको’ भन्ने समाचार व्यापक रूपमा फैलियो।

फेसबुक, टिकटकलगायतका प्लेटफर्ममा भारतीय आँपलाई ‘विषादीयुक्त’ भन्दै नेपालमा प्रवेश रोकिएको दाबी गरिएका सामग्री भाइरल बने। त्यसपछि उपभोक्तामा भारतीय आँपप्रति अविश्वास बढेको र व्यापारीहरू पनि आयातमा सतर्क बनेका कारण बजारमा उपलब्धता प्रभावित भएको कृषि क्षेत्रका जानकारहरू बताउँछन्।

तर सरकारी निकायहरूले भने भारतबाट आँप आयातमा कुनै पूर्ण प्रतिबन्ध नलगाइएको स्पष्ट पारेका छन्। आयातित फलफूलमा गुणस्तर तथा विषादी परीक्षणको प्रक्रिया नियमित रहे पनि भारतीय आँपमाथि पूर्ण रोक लगाइएको भन्ने समाचार सत्य नभएको सरकारी भनाइ छ।

स्थानीय बजारमा माग बढ्नु र आयातबारेको अन्योल कायम रहनुले मूल्य वृद्धि भएको व्यवसायीहरूको अनुमान छ। उनीहरूका अनुसार उपभोक्ताले स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिन थालेपछि बजारमा उपलब्ध आँपको माग एकाएक बढेको छ।

पर्सा जिल्लामा मालदह, सबुजा, कलकतिया, दशहरी, आम्रपालीलगायत जातका आँप उत्पादन हुँदै आएका छन्। जिल्लाका निर्मलबस्ती, सखुवा प्रसौनी, बिरुवागुठी, बागबाना, गादीलगायत क्षेत्रलाई आँप उत्पादनको पकेट क्षेत्रका रूपमा चिनिन्छ। यी क्षेत्रमा व्यावसायिक रूपमा आँप खेती हुँदै आएको छ र स्थानीय किसानहरूको आम्दानीको महत्वपूर्ण स्रोत पनि बनेको छ।

कृषि विज्ञहरूका अनुसार उत्पादन बढ्दै जानु सकारात्मक संकेत भए पनि बजार व्यवस्थापन, भण्डारण सुविधा र आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन नसकिए किसान र उपभोक्ता दुवैले अपेक्षित लाभ पाउन सक्दैनन्। यस वर्ष पर्सामा उत्पादन बढ्दा पनि मूल्य आकासिनुले कृषि उपजको बजार संरचनामा अझै सुधार आवश्यक रहेको संकेत गरेको छ।


सम्बन्धित समाचार
भर्खरै