१० असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ ।
पौडेलकी पत्नीले निवेदकका रूपमा दर्ता गराएको उक्त रिटमा राजनीतिक प्रतिशोधका आधारमा विना कुनै ठोस प्रमाण पौडेललाई पक्राउ गरिएको जिकिर गर्दै तत्काल रिहाइको माग गरिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेललाई विभागले दिपक भट्ट र कमलकिशोर मालपानी समूहबीचको शेयर लेनदेनमा चिनजान गराइदिएको बयानलाई आधार मान्दै मङ्गलबार पाँच दिनको म्याद थप गरेको थियो ।
सोमबार सुर्खेतमा एक कार्यक्रममा सहभागी भइरहेको अवस्थामा पक्राउ परेका पौडेललाई रातारात सार्वजनिक सवारीसाधनमार्फत काठमाडौँ ल्याइएको थियो । सोही घटनालाई लिएर कानूनी प्रक्रियाप्रति प्रश्न उठाउँदै परिवारले सर्वोच्चको ढोका ढकढक्याएको हो ।

















