Logo

१० असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाको नवौँ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्रस्तुत गरेको यो बजेट चालु आर्थिक वर्षको विनियोजनकै हाराहारीमा छ । सीमित स्रोत र साधनका बाबजुद नगरवासीका बढ्दो अपेक्षा तथा बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्यसहित बजेट तर्जुमा गरिएको महानगरले जनाएको छ ।

कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ५६.६ प्रतिशत अर्थात् ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ र चालु खर्चतर्फ ४३.४ प्रतिशत अर्थात् ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ । कर्मचारीको तलब, प्रोत्साहन भत्ता र सामाजिक सुरक्षा भत्ता जस्ता अनिवार्य दायित्वका कारण चालु खर्च गत वर्षको तुलनामा करिब २८ करोड रुपैयाँले बढेको छ ।

यता सङ्घीय र प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा कम अनुदान प्राप्त हुने प्रक्षेपण गरिएकाले पुँजीगत खर्च भने गत वर्षको तुलनामा ६ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट व्यवस्थापनका लागि महानगरले सङ्घीय सरकारबाट प्राप्त हुने १ अर्ब ३६ करोड ५३ लाख ९० हजार र बागमती प्रदेशबाट प्राप्त हुने १७ करोड ६३ लाख ९० हजार रुपैयाँ अनुदानलाई मुख्य आधार बनाएको छ ।

साथै, आन्तरिक आय तथा करबाट ३ अर्ब ३५ करोड ५० लाख रुपैयाँ सङ्कलन हुने र अपुग हुन आउने १ अर्ब ४७ करोड रुपैयाँ नगद मौज्दातबाट पूर्ति गर्ने योजना महानगरपालिकाको छ ।


सम्बन्धित समाचार