Logo

१० असार,वीरगञ्ज । मधेस प्रदेशका युवाको प्रतिनिधित्व गर्दै पर्साका प्रभाकर साहले मधेस विश्वविद्यालयको शैक्षिक तथा संस्थागत सुधारका लागि पाँच बुँदे सुझावपत्र पेश गरेका छन्।

हाल विदेशमा अध्ययनरत साहले बुधबार मधेस विश्वविद्यालय पुगेर उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्यलाई सुझावपत्र हस्तान्तरण गरेका हुन्। उनले मधेसका विद्यार्थी, शिक्षा प्रेमी युवा तथा नागरिकहरूको तर्फबाट विश्वविद्यालयलाई बहुविषयक प्रादेशिक विश्वविद्यालयका रूपमा विकास गर्न आवश्यक सुधारका सुझाव प्रस्तुत गरेको बताए।

साहले २०७९ सालमा स्थापना भएको मधेस विश्वविद्यालय अझै पूर्ण विकसित प्रादेशिक विश्वविद्यालयका रूपमा स्थापित हुन नसकेको उल्लेख गर्दै हाल यसको सञ्चालन सीमित शैक्षिक कार्यक्रममै केन्द्रित रहेको गुनासो गरे।

उपकुलपति शाक्यलाई बुझाइएको सुझावपत्रमा आगामी शैक्षिक सत्रदेखि विज्ञान, इन्जिनियरिङ, सूचना प्रविधि तथा अन्य प्राविधिक संकाय सञ्चालन गर्नुपर्ने, विश्वविद्यालय प्रशासनमा देखिएका द्वन्द्व समाधान गर्नुपर्ने, संस्थालाई वास्तविक बहुविषयक विश्वविद्यालयका रूपमा रूपान्तरण गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै, शैक्षिक कार्यक्रम विस्तार, शिक्षक नियुक्ति र स्रोत व्यवस्थापनमा पारदर्शिता तथा शैक्षिक स्वायत्तता सुनिश्चित गर्नुपर्ने र पूर्वाधार विकाससँगै नयाँ प्राविधिक कार्यक्रम सञ्चालनका लागि स्पष्ट सार्वजनिक समयसीमा तय गर्नुपर्ने सुझाव पनि पत्रमा समेटिएको छ।

सुझावपत्र ग्रहण गर्दै उपकुलपति प्रा. डा. शाक्यले विज्ञान तथा इन्जिनियरिङसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने विश्वविद्यालयको इच्छा र तयारी रहेको बताए। तर पर्याप्त जग्गा, भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावका कारण ती कार्यक्रम तत्काल सञ्चालन गर्न कठिनाइ भइरहेको उनले स्पष्ट पारे।

मधेस विश्वविद्यालयमा प्राविधिक तथा बहुविषयक शैक्षिक कार्यक्रम विस्तारको माग उठिरहेका बेला युवाहरूबाट आएको सुझावपत्रलाई विश्वविद्यालयको भावी विकासका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार