१० असार,वीरगञ्ज । लगातार बढिरहेको तापक्रम र अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि बिदा घोषणा गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधबार सूचना जारी गर्दै असार ११ र १२ गते (बिहीबार र शुक्रबार) महानगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। तर शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले विद्यालयहरू असार १४ गतेसम्म बन्द रहनेछन्।
महाशाखाका अनुसार चर्को गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सावधानीस्वरूप केही दिनका लागि पठनपाठन स्थगित गरिएको हो। बिदा अवधि वार्षिक बिदाबाट समायोजन गरिने पनि सूचनामा उल्लेख गरिएको छ।
महानगरपालिकाले जारी गरेको सूचनाअनुसार विद्यालयहरू आगामी असार १५ गते सोमबारदेखि नियमित रूपमा सञ्चालन हुनेछन्।
पछिल्ला केही दिनयता तराई–मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएको छ। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बन्दै गएको अवस्थामा विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै बिदा दिने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले अभिभावकलाई गर्मीको समयमा बालबालिकाको स्वास्थ्यप्रति विशेष ध्यान दिन, पर्याप्त पानी पिउन लगाउन तथा अत्यधिक घाममा बाहिर ननिस्कन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


















