Logo

१० असार, काठमाडौं । सुनसरीको बर्जू गाउँपालिका–६ स्थित नरह चोकमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको मृत्यु भएको छ ।

नयाँ जिम्मेवारी सम्हाल्न जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भई हाजिर हुन जाँदै गर्दा यादव सवार प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएकामा उपचारकै क्रममा अपरान्ह ४ः१६ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् र उनको दाहिने खुट्टामा चोट लागेको छ । प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। मृतक यादव सप्तरीको विष्णुपुर गाउँपालिका–१ का स्थायी बासिन्दा थिए ।

यसैबीच, दुर्घटनामा संलग्न कारका चालक मोरङको कटहरी गाउँपालिका–३ निवासी रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। दुर्घटनापछि मोटरसाइकलमा समेत आगलागी भएको थियो ।


सम्बन्धित समाचार
भर्खरै