१० असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै एक अर्ब १९ करोड रुपैयाँले बढी हो।
बुधबार आयोजित नगरसभाको २०औँ अधिवेशनमा महानगरका कार्यवाहक मेयर इम्तियाज आलमका तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षको आय–व्यय विवरणसहित बजेट प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्षका लागि महानगरको बजेट तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँ रहेको थियो।
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ। त्यस्तै, पुँजीगत खर्चतर्फ एक अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् ४४.६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ पाँच करोड रुपैयाँ अर्थात् १.१ प्रतिशत बजेट छुट्याइएको छ।
महानगरले आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९८ करोड २९ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट एक अर्ब ४८ करोड रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।
त्यसैगरी प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १४ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेशन शुल्कबाट ४५ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ स्रोत व्यवस्थापन गरिने जनाइएको छ।
बजेट प्रस्तुत गर्दै नगर कार्यपालिका सदस्य कानुले शिक्षा र स्वास्थ्य सेवा सुधार, सरसफाइ व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि, पर्यटन तथा उद्योग प्रवर्द्धन, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण र प्रविधिमैत्री सेवा प्रवाहलाई आगामी वर्षको प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिए।
यसअघि नगरसभामा कार्यवाहक मेयर आलमले आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
आलमको अध्यक्षतामा सम्पन्न नगरसभाको अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा, नगर कार्यपालिका सदस्य, ३२ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्य, महानगरका कर्मचारी र अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

















