१७ असार, काठमाडौं । काठमाडौँस्थित जर्मन दूतावासले नेपालको राहदानी खरिद प्रकरण र त्यससँग जोडिएका हालैका घटनाक्रमबारे सञ्चारमाध्यमहरूमा सम्प्रेषण भएका समाचारहरूलाई भ्रामक भन्दै त्यसको खण्डन गरेको छ ।
दूतावासले एक स्पष्टीकरण वक्तव्य जारी गर्दै यस विषयमा बाहिर आएका धेरैजसो दाबीहरू सत्य नभएको र कूटनीतिक मर्यादाविपरीत गलत ढंगले व्याख्या गरिएको उल्लेख गरेको छ ।
दूतावासका अनुसार बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई जर्मनीको सङ्घीय परराष्ट्र मन्त्रालयमा केवल एक नियमित बैठकका लागि आमन्त्रण मात्र गरिएको हो ।
कतिपय सञ्चारमाध्यममा आएजस्तो उनलाई स्पष्टीकरणका लागि ‘ सोधपुछ ’ नगरिएको दूतावासले प्रस्ट पारेको छ । कूटनीतिक अभ्यासमा यी दुई प्रक्रियाबीचको सानो भिन्नताले पनि ठुलो अर्थ र महत्त्व राख्ने हुँदा यसलाई सामान्य रूपमा नलिन समेत दूतावासले सचेत गराएको छ ।
यसैगरी, उक्त बैठकका क्रममा जर्मन पक्षबाट नेपाल सरकारलाई कुनै पनि किसिमको विरोध पत्र वा असन्तुष्टि जनाउने अन्य कागजातहरू हस्तान्तरण नगरिएको दूतावासले प्रस्ट पारेको छ ।
राहदानी खरिदको कानुनी प्रक्रिया वा हाल अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई लिएर जर्मनीले नेपाललाई कुनै प्रकारको चेतावनी दिएको वा सम्भावित कूटनीतिक असरबारे कुरा उठाएको भन्ने समाचारहरूमा कुनै सत्यता नरहेको जर्मन पक्षको दाबी छ ।
जर्मनीले न्यायपालिकाको स्वतन्त्रताको सिद्धान्तलाई उच्च सम्मान गर्ने र यो आफ्नो देशको संविधानकै मूल मर्म भएको कुरालाई वक्तव्यमा विशेष जोड दिइएको छ ।
आफ्नो स्थापित अन्तर्राष्ट्रिय मान्यता अनुरूप अदालतमा चलिरहेका मुद्दाहरूका बारेमा जर्मनीले कहिल्यै कुनै टिप्पणी नगर्ने स्पष्ट पार्दै दूतावासले यस राहदानी प्रकरणमा पनि हालसम्म कुनै औपचारिक वा अनौपचारिक टिप्पणी नगरिएको प्रस्ट पारेको छ ।


















