Logo

१७ असार, काठमाडौँ । यस वर्ष सरदर मितिभन्दा केही ढिलो गरी नेपाल भित्रिएको मनसुनी वायु अन्ततः देशैभर पूर्ण रूपमा फैलिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु मुलुकको पश्चिमी सीमासम्मै पुगेको छ ।

आज बुधबार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा समेत मनसुन विस्तार भएसँगै यो वर्षको मनसुन प्रणालीले देशभर पूर्णता पाएको हो ।

नेपालमा साधारणतया जुन १३ तारिखमा पूर्वी भूभागबाट मनसुन प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुने रैथाने चक्र छ । तर यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते (जुन १९ तारिख) मात्रै पूर्वी नाकाबाट नेपाल भित्रिएको थियो ।

गत असार ५ गते कोशी प्रदेशको पूर्वी भूभागबाट सुरु भएको मनसुनी विस्तार असार ८ गते कोशीको बाँकी भाग, मधेस, बागमती, गण्डकीको केही भूभाग र लुम्बिनीको पूर्वी क्षेत्रसम्म फैलिएको थियो । यसरी हेर्दा यो वर्ष देशभर मनसुन विस्तार हुन कुल १२ दिन लागेको महाशाखाको तथ्याङ्क छ ।

महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा बादल लागेको अवस्था छ । अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज बुधबार दिनभरिको मौसमी पूर्वानुमान अनुसार देशभर पूर्ण बादल लाग्ने अवस्था रहनेछ । देशका विभिन्न भौगोलिक क्षेत्रमा वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको समेत आकलन गरिएको छ । महाशाखाका अनुसार देशको हिमाली भूभागका केही स्थानमा र पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । यस्तै, तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने देखिन्छ ।

विशेष गरी आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रमा पहिरो र बहावको जोखिम बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा विशेष तथा नियमित बुलेटिनहरू अद्यावधिक गर्दै जाने जनाएको छ ।

महाशाखाले मौसममा आएको यो देशव्यापी परिवर्तन र वर्षाको जोखिमलाई मध्यनजर गर्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई अद्यावधिक मौसम सूचनाको जानकारी लिई आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ ।


सम्बन्धित समाचार