Logo

असार १६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा गण्डकी प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यमा निर्वाचित सोम शर्माले कुनै पूर्वसूचना र स्पष्टीकरण बिना आफ्नो नाम केन्द्रीय समितिको सूचीबाट हटाइएको भन्दै पार्टीको निर्वाचन आयोगमा उजुरी दिनुभएको छ ।

महाधिवेशनमा ९९३ मत प्राप्त गरी चौथो स्थानमा विजयी घोषणा भइसकेका शर्माले आइतबार आयोगमा पत्र दर्ता गराउँदै आफूलाई हटाइनु अन्यायपूर्ण, विधानविपरीत र आफूलाई मतदान गर्ने प्रतिनिधिहरूको जनमतको अपमान भएको दाबी गर्नुभएको छ ।

पार्टी विधानको समावेशी क्लस्टरअनुसार गण्डकीबाट पहिलो पाँचभित्रै दुई महिला निर्वाचित भइसकेकाले थप क्लस्टर मिलाउन कसैलाई विस्थापित गर्नुपर्ने अवस्था नरहेको तर्क गर्दै उहाँले चौथो उच्च मत ल्याउने उम्मेदवारलाई हटाएर परिणाम उल्ट्याउनु लोकतान्त्रिक मूल्य र विधिको बर्खिलाप भएको उल्लेख गर्नुभएको छ ।

शर्माले आफूमाथि भएको अन्याय तत्काल सच्याएर वैधानिक हैसियत कायम गर्न जोडदार माग गर्नुभएको छ भने मागलाई बेवास्ता गरिएमा आफ्नो संवैधानिक र राजनीतिक अधिकार रक्षाका लागि अदालत जाने लगायतका उपलब्ध सम्पूर्ण कानुनी उपचार र न्यायिक प्रक्रिया अवलम्बन गर्न बाध्य हुने चेतावनी समेत दिनुभएको छ ।


सम्बन्धित समाचार
भर्खरै