१६ असार, काठमाडौं । लामो समयदेखि स्वीकृत बिदा समाप्त भएर पनि कार्यालयमा अनुपस्थित भई विदेशी मुलुकको अस्थायी वा स्थायी आवासीय अनुमति र डिभी लिएर बसेका चार जना निजामती कर्मचारीमाथि सरकारले कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै पदमा बहाल रहँदै विदेशी आवासीय अनुमति लिन वा आवेदन दिन समेत नपाइने कानुनी व्यवस्थाविपरीत कार्य गर्ने ती कर्मचारीहरूसँग १५ दिनभित्र चित्तबुझ्दो सफाइ पेस गर्न स्पष्टीकरण माग गरेको हो ।
निजामती सेवा ऐन, २०४९ बमोजिम स्वीकृत बिदा सकिएको ३० दिनभित्र हाजिर हुनुपर्नेमा सो नगरी अनुशासन उल्लङ्घन गरेकाले उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने सिफारिस गरिएको छ ।
यसै सन्दर्भमा मन्त्रालयका मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहिता मजबुत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको स्पष्ट पार्दै लामो समयदेखि सम्पर्कविहीन र विदेशमा रहेका अन्य कर्मचारीहरूको खोजी तथा अध्ययन कार्यलाई समेत तीव्रता दिइएको जानकारी दिनुभएको छ।

















