जारी विश्वकपमा मेक्सिकन टोलीले ऐतिहासिक जित दर्ता गर्दै अर्को चरणमा प्रवेश गरेको खुसीयाली मनाउने क्रममा मेक्सिको सिटीमा दुःखद घटना भएको छ ।
खुसियाली मनाउने क्रममा भिडमा च्यापिएर दुई जनाको ज्यान गएको स्थानीय सरकारले पुष्टि गरेको हो । ज्यान गुमाउनेमा १९ वर्षीया युवती र एक ४४ वर्षीय पुरुष रहेको मेक्सिको सिटीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरूको अत्यधिक भीडमा च्यापिएर वा निसास्सिएर ज्यान भएको बताईको छ। स्थानीय सञ्चारमाध्यमहरूले तेस्रो व्यक्तिको पनि मृत्यु भएको समाचार प्रसारण गरे पनि सरकारी अधिकारीहरूले भने त्यसको आधिकारिक पुष्टि गरिसकेका छैनन् ।
आज बिहान मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै सन् १९८६ पछि विश्वकपको नकआउट चरणमा पहिलोपटक जित दर्ता गरेपछि समर्थकमा खुसीयाली छाएको थियो । सह(आयोजक मेक्सिको अन्तिम १६ मा पुगेको ऐतिहासिक उपलब्धिको उत्सव मनाउन समर्थकहरू सडकमा उर्लिएका थिए ।
नगर सरकारको अनुमान अनुसार मेक्सिको सिटीका सडकहरूमा १० लाखभन्दा बढी मानिसहरू विजय उत्सव मनाउन भेला भएका थिए।



















