Logo

१७ असार, काठमाडौँ ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारसँग स्वचालित प्रणालीअनुरूप सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्न माग गरेको छ ।

निगमले बुधबार बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटाएको थियो । इन्धनको मूल्य घटेको पृष्ठभूमिमा महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बजारको यथार्थतालाई सम्बोधन गर्न वैज्ञानिक र पारदर्शी ढंगले भाडादर परिमार्जन गरिनुपर्नेमा जोड दिनुभएको छ ।

अध्यक्ष सिटौलाका अनुसार इन्धनको मूल्य बढ्दा तत्कालै भाडा वृद्धि हुने तर मूल्य घट्दा समयमै समायोजन नहुने परिपाटीले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल तथा असमझदारी सिर्जना गर्ने गरेको छ । त्यसैले स्वचालित प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयन गरी भाडादरलाई वस्तुगत बनाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।

साथै, सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा केवल इन्धनको मूल्यलाई मात्र नहेरी सवारीसाधनको सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, पाटपूर्जाको मूल्य र बैंकिङ लागत जस्ता समग्र आर्थिक सूचकहरूलाई वैज्ञानिक आधार मानेर मूल्याङ्कन गरिनुपर्ने माग समेत महासङ्घले अघि सारेको छ ।


सम्बन्धित समाचार