१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चुनावी नतिजा फेरबदल र आन्तरिक असन्तुष्टिको परकम्प आजको शपथग्रहण समारोहमा प्रस्टै देखिएको छ ।
पार्टीको नवगठित ९९ सदस्यीय केन्द्रीय समिति र पदाधिकारीहरूको शपथग्रहण कार्यक्रम तामझामका साथ सम्पन्न भए पनि तीनवटा सिट भने रिक्त रहन पुगे ।
निर्वाचन आयोगको प्राविधिक हेरफेर र उम्मेदवारहरूको उजुरीका कारण आज ९६ जनाले मात्रै आधिकारिक रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
विवादको चुरोस् मत परिणाममा संशोधन
रास्वपाको निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको मत परिणाममा अन्तिम समयमा दुईवटा ठूला संशोधन गरेपछि विवादको बिजारोपण भएको हो । गण्डकी प्रदेशबाट चौथो धेरै मत ल्याएर केन्द्रीय सदस्यमा चुनिएका सोम शर्माको नाम एकाएक सूचीबाट हटाएर पूजा बास्तोलालाई भित्र्याइयो ।
यता, जनजाति क्लस्टरबाट विजयी घोषित भइसकेका कृष्णमान श्रेष्ठको स्थानमा ध्रुव थापामगरलाई समावेश गरियो ।
आफूहरू अन्यायमा परेको भन्दै शर्मा र श्रेष्ठले तत्कालै पार्टीको निर्वाचन आयोगमा उजुरी दर्ता गराए, जसले गर्दा केन्द्रीय कार्यालयमा दौडधुप र तनावको स्थिति सिर्जना भयो ।
कार्यालयमा छलफल, निष्कर्ष ‘शपथ स्थगन’
आज शपथग्रहणको केही समयअघि मात्रै असन्तुष्ट सोम शर्मा छलफलका लागि पार्टी केन्द्रीय कार्यालय पुगेका थिए । नेतृत्वसँग निकै बेर संवाद भए पनि कुरो मिल्न सकेन ।
विवादले उग्र रूप लिन सक्ने र शपथकै दिन नकारात्मक सन्देश जाने भएपछि पार्टी नेतृत्वले मध्यमार्गी बाटो रोज्यो— विवादित कोटाका कसैलाई पनि शपथ नगराउने ।
यही निर्णयका कारण सोम शर्मा र पूजा बास्तोला मात्र होइन, सोही प्रदेशबाट ‘ टप ५’ मा नपर्दा नपर्दै पनि केन्द्रीय सदस्य बनाइएकी विष्णुकुमारी गुरुङको समेत शपथ रोकियो ।
उता जनजाति क्लस्टरका कृष्णमान र ध्रुव थापामगर दुवैले आज मञ्चमा उक्लने मौका पाएनन् ।
केन्द्रीय सदस्यको हैसियत तत्कालका लागि गुम्ने
पार्टीका एक वरिष्ठ पदाधिकारीका अनुसार यो विवाद सामान्य नभएकाले आयोगले ठोस निर्णय नगर्दासम्म यी पाँचैजना ‘ वेटिङ लिस्ट’ मा रहनेछन् ।
उजुरीको अन्तिम निरुपण र छानबिन नसकिँदासम्म उनीहरू कसैले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यको हैसियत र अधिकार प्रयोग गर्न पाउने छैनन् ।
नयाँ राजनीतिक संस्कारको वकालत गर्ने रास्वपाका लागि आन्तरिक निर्वाचनको यो व्यवस्थापन र असन्तुष्टि सुल्झाउनु अहिलको मुख्य चुनौती बनेको छ ।


















