१४ असार, काठमाडौँ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा विद्यमान राजनीतिक चुनौतीहरूलाई चिर्दै ‘प्रतिगमन’ लाई पराजित गर्न सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
राजधानीमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान परिप्रेक्ष्यमा समाजवादको खाका कोर्नुभन्दा पनि प्रतिगमनकारी शक्तिहरूलाई परास्त गर्नु मुख्य कार्यभार रहेको स्पष्ट पारे । उनले देशका सम्पूर्ण परिवर्तनकारी शक्तिहरू मिलेर कार्यगत एकताको माध्यमबाट अगाडि बढ्नुको विकल्प नभएको दाबी गरे ।
विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वामपन्थी आन्दोलनमाथि वैचारिक आक्रमण भइरहेको भन्दै आक्रोश व्यक्त गरे । पछिल्लो समय कम्युनिस्ट र वामपन्थी शक्तिहरूको चरित्र हत्या गर्ने संगठित प्रयास भइरहेको उल्लेख गर्दै उनले आफ्नो पार्टीका नीति र सिद्धान्तहरू सदैव सही र जनपक्षीय रहेको दाबी गरेका छन् ।
एमालेले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई आत्मसात् गर्दै यसलाई समयानुकूल परिमार्जनसहित अगाडि बढाइरहेको र यसैका आधारमा दक्षिणपन्थी तथा प्रतिगामी तत्त्वहरूको मुकाबिला गरिने उनको भनाइ थियो ।

















