१४ असार, काठमाडौं । सडकमा गुड्ने सवारी साधनका कालो सिसा अब फेसन वा गोपनीयताको विषय मात्र रहेनन्, बरु यसको आवरणमा गम्भीर अपराधहरू फस्टाउन थालेका छन् ।
निजी तथा सार्वजनिक सवारीमा कालो सिसा प्रयोग गरी स-साना हतियार, लागुऔषध र सुन ओसारपसार गर्ने मात्र नभई अपराधीहरू फरार हुन समेत यस्ता गाडीको दुरूपयोग बढेपछि उपत्यका ट्राफिक प्रहरीले विशेष र आक्रामक कारबाही अभियान सुरु गरेको छ । सवारी तथा यातायात ऐन २०४९ को दफा ३९ ले स्पष्ट रूपमा अधिकार प्राप्त अधिकारीको स्वीकृतिविना सवारीको स्वरूप, रङ वा सिसा परिवर्तन गर्न निषेध गरे पनि नियम मिच्ने परिपाटी बढेको थियो ।
सोही नियम उल्लंघन गरी आफूखुसी कालो सिसा राखेर सडकमा निस्किएका ३७ वटा सवारी साधनलाई उपत्यका ट्राफिक प्रहरीले पहिलो चरणमै नियन्त्रणमा लिएर कारबाही गरिसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरु गरिएको यो अभियानलाई थप प्रभावकारी बनाउन प्रहरीले चेकजाँचमा व्यापक कडाइ गरेको छ ।

















