१४ असार, काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलन र यसको भविष्यलाई लिएर चौतर्फी बहस भइरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटा निर्वाचनको मतपरिणामलाई मात्र आधार मानेर देशमा कम्युनिस्ट आन्दोलन नै सकिएको निष्कर्ष निकाल्न नहुने स्पष्ट पारेकी छन् ।
मदन भण्डारी फाउन्डेसनद्वारा मदन भण्डारी जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले फागुन २१ को चुनावी नतिजाले कम्युनिस्ट दलहरूलाई गम्भीर आत्मसमीक्षा र वैचारिक बहसको बाटोमा डोर्याएको उल्लेख गरिन् । विगतका उपलब्धिको संस्मरण गरेर मात्रै अबको राजनीतिक यात्रा सम्भव नहुने भन्दै उनले बदलिँदो पुस्ताको आकांक्षा र राष्ट्रिय आवश्यकता अनुसार नीति र नेतृत्वलाई समयानुकूल परिस्कृत गर्नुपर्नेमा जोड दिइन् ।
यसै क्रममा देशको शासकीय स्वरूपबारे चलिरहेको बहसलाई संकेत गर्दै भण्डारीले नेपालको भूराजनीतिक र सामाजिक परिवेशका कारण प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली मुलुकका लागि उपयुक्त नहुने आफ्नो परिपक्व निष्कर्ष रहेको समेत प्रष्ट पारिन् ।

















