१८ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्समा एउटा डरलाग्दो ‘सेटिङ’ को पर्दाफास भएको छ ।
जुत्ता, पाइन्ट र साडीजस्ता सामान्य घरायसी सामान भन्दै अमेरिका पठाउन लागिएको कार्गो बाकसभित्र सुनका गरगहनाको भण्डार नै फेला परेपछि सुरक्षा निकाय आश्चर्यमा परेको छ ।
१६ असारको साँझ कार्गो कम्प्लेक्समा नियमित एक्स-रे जाँचका क्रममा कपडाभित्र लुकाएर राखिएको सुनका गहनाको ठूलो परिमाण बरामद भएको हो ।
प्रहरीको विमान सुरक्षा कार्यालयका अनुसार, यो तस्करीमा संलग्न रहेको आरोपमा ‘एपेक्स लजिस्टिक’ का सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र ‘युनिक कार्गो’ झापाका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल पक्राउ परेका छन् ।
अचम्मको कुरा त के छ भने, भन्सार जाँचपाससमेत भइसकेका ती बाकसबाट गहना भेटिनुले विमानस्थलको सुरक्षा प्रणाली र कर्मचारीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । बरामद गरिएका गहनाहरूमा नौगेडी, शिरफुलो, रानीहार, मंगलसूत्र, तिलहरी, चुरालगायतका विभिन्न गहनाका २६ प्रकारका २६० भन्दा बढी थान समाग्री रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले यो सुन तस्करीको जालो निकै गहिरो रहेको देखाएको छ । प्रहरी स्रोतका अनुसार, बाकसमा सामान राख्ने मुख्य व्यक्ति पहिल्यै अमेरिका उडिसकेका छन्, जसले गर्दा यो गिरोहले निकै योजनाबद्ध रूपमा तस्करीको प्रयास गरेको पुष्टि हुन्छ ।
अहिले पक्राउ परेका कार्गो सञ्चालकहरूसँगको सोधपुछबाट सुनका गहनाको अन्तिम गन्तव्य र यसको पछाडि रहेका थप नाइकेहरूको खोजी भइरहेको छ । भन्सार छलेर भएको यस किसिमको तस्करीले विमानस्थलको सुरक्षामाथि नै गम्भीर चुनौती खडा गरेको छ ।



















