१८ असार, काठमाडौं । ‘कानुन सबैका लागि बराबर हुन्छ’ भन्ने भनाइलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले व्यवहारमै पुष्टि गरेका छन् ।
केही दिनअघि आफ्नै घर आँगनमा हेल्मेटबिना मोटरसाइकल चलाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मुख्यमन्त्री शाह चर्चामा आएका थिए । उनको उक्त लापरबाहीलाई लिएर सर्वत्र आलोचना हुनुका साथै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ट्राफिक प्रहरीलाई कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराएका थिए ।
जनस्तरबाट उठेको प्रश्न र ट्राफिक नियमको उल्लंघन भएको भिडियो प्रमाणका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको ट्राफिक प्रहरी टोलीले बुधबार मुख्यमन्त्री शाहलाई कारबाही स्वरूप ‘चिट’ काटेको छ। ट्राफिक प्रहरीले हेल्मेट प्रयोग नगरेको कसुरमा मुख्यमन्त्री शाहलाई नै जरिवानासहितको चिट थमाएको हो ।
एउटा प्रदेशको प्रमुख पदमा बहाल व्यक्तिले ट्राफिक नियमको पालना गर्दै आफूलाई कारबाहीको दायरामा उभ्याउनुलाई स्थानीयले कानुनको सम्मान र सुशासनको उदाहरणका रूपमा लिएका छन् । पदको मर्यादाभन्दा माथि कानुन हुन्छ भन्ने सन्देश यो घटनाले दिएको छ ।



















