Logo

१८ असार, काठमाडौं । नयाँ दिल्लीले कूटनीतिक क्षेत्रमा महत्त्वपूर्ण निर्णय गर्दै भारतीय विदेशसचिव विक्रम मिश्रीको कार्यकाल एक वर्षका लागि लम्ब्याएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषद्ले बुधबार गरेको निर्णयअनुसार, आगामी जुलाई १४ मा सकिन लागेको मिश्रीको नियमित कार्यकाल अब थप एक वर्षसम्म रहनेछ । अनिवार्य अवकाशको संघारमा रहेका मिश्रीलाई पुनः जिम्मेवारी दिनुले भारतीय विदेश मन्त्रालयको हालको नेतृत्व निरन्तरता र स्थायित्वको पक्षमा रहेको संकेत गरेको छ ।

पूर्व उप(राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहेका मिश्रीले दुई वर्षअघि विदेश सेवाको सर्वोच्च पद सम्हालेका हुन् । उनको कार्यकाल थपिने खबरले काठमाडौँको कूटनीतिक वृत्तमा पनि चासो बढाएको छ । खासगरी, केही समयअघि नेपाल भ्रमणको तालिका बनेर पनि अन्तिम समयमा स्थगित भएको विषय निकै चर्चामा थियो ।

अब थप एक वर्षको कार्यकालसहित मिश्रीले भारतीय कूटनीतिक संयन्त्रको प्रशासनिक नेतृत्व गर्ने भएसँगै नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धका जटिल मुद्दाहरूमा उनको कस्तो दृष्टिकोण रहनेछ, त्यो आगामी दिनमा थप स्पष्ट हुँदै जानेछ ।


सम्बन्धित समाचार