१८ असार, काठमाडौ । वैदेशिक रोजगारीका लागि सपना बोकेर दक्षिण कोरिया पुगेका खोटाङका धर्मराज तामाङको अकालमै ज्यान गएपछि उनको परिवार यतिबेला गहिरो शोकमा डुबेको छ ।
२०८० सालमा कोरिया उडेका खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका तामाङ गत वर्ष मंसिर २२ गते मृत फेला परेका थिए । परिवारका भरोसा र भविष्यका सपना बोकेर विदेशिएका तामाङ झुण्डिएको अवस्थामा भेटिएपछि उनको परिवारमा बज्रपात परेको थियो ।
यद्यपि, कानुनी प्रक्रिया र वैदेशिक रोजगार बोर्डको पहलमा मृतकका परिवारले केही राहतको सास फेरेका छन् । तामाङकी श्रीमती र छोराले वैदेशिक रोजगार बोर्डबाट १० लाख रुपैयाँ आर्थिक सहायता र १३ लाख रुपैयाँ बीमाबापत गरी कुल २३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
आप्रवासी स्रोत उपकेन्द्रको सहयोगमा परिवारले पुस २४ गते दिएको निवेदनपछि असार १६ गते उक्त रकम परिवारको खातामा जम्मा भएको परामर्शकर्ता युवराज कालिकोटेले जानकारी दिए ।
अभिभावक गुमाएपछि टुहुरो बनेका तामाङका छोराको भविष्यप्रति गाउँपालिकाले पनि चासो देखाएको छ । खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईका अनुसार, तामाङका छोरालाई सरकारबाट प्राप्त हुने छात्रवृत्तिका लागि सिफारिस गर्ने तयारी गरिएको छ ।
सरकारले वैदेशिक रोजगारीका क्रममा अभिभावक गुमाएका ४ देखि १७ वर्ष उमेरका बालबालिकालाई कक्षा १ देखि ८ सम्म वार्षिक १२ हजार र कक्षा ८ देखि १२ सम्म १६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल पालिकाले यस्तै पीडामा रहेका अन्य तीन परिवारका ६ बालबालिकाका लागि समेत छात्रवृत्तिको प्रक्रिया अगाडि बढाइसकेको छ ।



















