१८ असार, वीरगञ्ज । सप्तरीको बोदेबरसाईन नगरपालिका–४, सिलहट प्रसाहीमा एक युवतीको मृत्यु प्रकरणमा नयाँ मोड आएको छ। आफ्नै घरमा मृत अवस्थामा भेटिएकी सरस्वती रामको मृत्युको कारण आत्महत्या दुरुत्साहन भएको भन्दै प्रहरीले उनका ४० वर्षीय ससुरा रामेश्वर रामलाई पक्राउ गरेको छ।
गत असार १२ गते राति सरस्वती आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको शव १३ गते बिहान देखिएको थियो। सुरुमा आत्महत्या भनिए पनि अनुसन्धानका क्रममा गम्भीर र दुखद तथ्यहरू बाहिर आएका छन्।
प्रहरीका अनुसार ससुरा रामेश्वर रामले लामो समयदेखि बुहारी सरस्वतीमाथि यौन दुर्व्यवहार गर्दै आएका थिए। यो घटना गाउँलेको जानकारीमा आएपछि पीडितलाई नै पारेको दबाब र धम्कीले गर्दा उनले ज्यान गुमाउनु परेको आरोप छ।
आफ्नै घरको सुरक्षित ठानिएको सुत्ने कोठा, जुन एउटी महिलाका लागि अन्तिम आश्रय हुनुपर्थ्यो, त्यही कोठा सप्तरीकी सरस्वती रामका लागि कालकोठरी बन्यो। असार १२ गतेको त्यो कालो रात, जब सरस्वतीले घृणित यौन दुर्व्यवहार र निरन्तरको धम्कीविरुद्ध लड्न नसकी प्राण त्याग्न विवश भइन्। उनको मृत शरीर भोलिपल्ट बिहान कोठामा झुण्डिएको अवस्थामा फेला पर्दा सिंगो समाज र मानवता फेरि एकपटक लज्जित बनेको छ।
अनुसन्धानका क्रममा खुलेको तथ्य झनै हृदयविदारक छ। सरस्वतीमाथि पटक(पटक यौन दुर्व्यवहार गर्ने अरू कोही नभई उनकै आफ्नै ससुरा ४० वर्षीय रामेश्वर राम रहेको प्रहरीले जनाएको छ। आफूमाथि भएको अन्यायविरुद्ध सरस्वतीले आवाज उठाउन खोज्दा, उल्टै उनलाई गाउँको पञ्चायतीको कठघरामा उभ्याइयो। जहाँ पीडकलाई दण्डित गर्नुको साटो सरस्वतीलाई नै बयान फेर्न र घटना लुकाउन चर्को दबाब दिइयो।
बयान नफेरे ज्यान लिन्छु, यो धम्कीले सरस्वतीको कोमल मनमा कति ठूलो सन्त्रास छरेको थियो होला ? समाजका कथित भद्रभलादमीहरूले भरिएको पञ्चायतीमा न्याय माग्न पुगेकी सरस्वतीलाई उल्टै हप्कीदप्की गरी मुख थुन्ने प्रयास भयो। अन्यायको पराकाष्ठा र चौतर्फी दबाबले गर्दा बाँच्ने अन्तिम आश पनि गुमाएपछि सरस्वतीले मृत्युको कठिन बाटो रोज्न बाध्य भइन्।
अहिले घटनाका मुख्य आरोपित ससुरा रामेश्वर राम प्रहरीको नियन्त्रणमा छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। यता, सरस्वतीलाई अन्यायविरुद्ध बोल्नबाट रोक्न हप्कीदप्की गर्ने र घटनालाई सामसुम पार्ने प्रयासमा संलग्न पञ्चायतीका मतियारहरू भने अहिले फरार छन्।
सरस्वतीको मृत्यु केवल एक आत्महत्या मात्र होइन, यो समाजमा विद्यमान पितृसत्तात्मक सोच र अपराधीलाई संरक्षण गर्ने पञ्चायती शैलीको क्रूर परिणाम हो। एउटी महिलाले न्याय खोज्दा समाज र परिवारबाटै पाएको यस्तो नियतिले आज हरेकको मनलाई झस्काएको छ।



















