Logo

१८ असार,वीरगञ्ज । पर्साको बढनियार प्रहरी चौकीको हिरासतबाट एक थुनुवा फरार भएको घटनामा ड्युटीमा रहेका प्रहरी हवल्दारसँग स्पष्टीकरण मागिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार राति हिरासतबाट फरार भएका थुनुवा २४ घण्टाभित्र सोमबार बिहान आफैं सम्बन्धित निकायमा हाजिर भएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको हो। घटनामा ड्युटीमा रहेका प्रहरी हवल्दार रामनिवास यादवको लापरबाही देखिएको आशंकामा उनीसँग लिखित स्पष्टीकरण मागिएको प्रहरीले जनाएको छ।

पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले ड्युटीमा रहेका प्रहरी कर्मचारीको कमजोरीका कारण थुनुवा हिरासतबाट भाग्न सफल भएको प्रारम्भिक निष्कर्ष देखिएकाले घटनाको वास्तविकता बुझ्न स्पष्टीकरण मागिएको जानकारी दिए।

उनका अनुसार थुनुवा रातिको समयमा कसरी र किन फरार हुन सफल भयो भन्ने विषयमा विस्तृत छानबिन भइरहेको छ। प्रहरी हवल्दारबाट प्राप्त स्पष्टीकरणका आधारमा विभागीय कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए।

फरार हुने थुनुवा पर्सागढी नगरपालिका–४ पर्शुरामपुर निवासी २८ वर्षीय लालबाबु भन्ने मेराजुल देवान रहेको प्रहरीले जनाएको छ। उनी आइतबार राति प्रहरी चौकीको हिरासतबाट भागेका थिए भने सोमबार बिहान आफैं वन कार्यालयमा उपस्थित भएका थिए।

प्रहरी स्रोतका अनुसार काठ तस्करीको आरोपमा पक्राउ परेका देवान खाना खाने समयमा हत्कडीसहित प्रहरीको निगरानीबाट उम्किएका थिए। राति करिब ७ देखि ८ बजेको बीचमा उनी फरार भएका थिए। फरार भएपछि प्रहरीले तत्काल खोजी अभियान तीव्र बनाएको थियो।

प्रहरी स्रोतका अनुसार खोजी कार्य तीव्र बनाएपछि परिवारका सदस्यहरूको पहलमा देवानले भोलिपल्ट सम्बन्धित वन कार्यालयमा आत्मसमर्पण गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार देवानलाई असार १४ गते पक्राउ गरिएको थियो। सबडिभिजन वन कार्यालय सबैयामा उनीविरुद्ध काठ तस्करीसम्बन्धी तीनवटा मुद्दा दर्ता रहेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाले प्रहरी हिरासतको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको विस्तृत छानबिन भइरहेको जनाउँदै दोषी देखिने प्रहरी कर्मचारीमाथि प्रचलित कानुन तथा प्रहरी नियमावलीअनुसार विभागीय कारबाही गरिने जनाएको छ।


सम्बन्धित समाचार