Logo

१८ असार,काठमाडौं । फिफा विश्वकप फुटबलको नकआउट चरणअन्तर्गत आज र भोलि हुने खेलहरूले प्रि–क्वाटरफाइनल समीकरण थप रोमाञ्चक बनाउने भएका छन्। आज राति स्पेन र अस्ट्रिया आमनेसामने हुँदैछन् भने भोलि बिहान पोर्चुगल र क्रोएशियाबीच बहुप्रतीक्षित भिडन्त हुनेछ। त्यसपछि स्विट्जरल्यान्ड र अल्जेरियाले पनि अन्तिम १६ मा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्।

आज राति पौने १ बजे अमेरिकाको लस एन्जलसमा हुने खेलमा समूह ‘एच’ को विजेता स्पेन र समूह ‘जे’ को उपविजेता अस्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ। सन् २०१० को विश्वकप विजेता स्पेन यस पटक पनि उपाधि दाबेदार टोलीका रूपमा मैदान उत्रँदै छ भने अस्ट्रिया स्पेनलाई स्तब्ध पार्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछ।

विश्वकप इतिहासमा यी दुई टोलीबीच यो दोस्रो भेट हो। यसअघि सन् १९७८ को विश्वकपमा अस्ट्रियाले स्पेनलाई २–१ गोलले पराजित गरेको थियो। अन्तर्राष्ट्रिय फुटबलमा भने दुवै टोलीबीच १६ पटक प्रतिस्पर्धा हुँदा स्पेनले ९ खेल जितेको छ भने अस्ट्रियाले ४ खेल आफ्नो पक्षमा पारेको छ। तीन खेल बराबरीमा सकिएका छन्।

त्यसपछि भोलि बिहान पौने ५ बजे क्यानडाको टोरन्टोमा पोर्चुगल र क्रोएशियाबीच बहुप्रतीक्षित खेल हुनेछ। समूह ‘के’ को उपविजेता पोर्चुगल र समूह ‘एल’ को उपविजेता क्रोएशिया पहिलो पटक विश्वकपमा आमनेसामने हुन लागेका हुन्।

यो खेल केवल प्रि–क्वाटरफाइनल प्रवेशका लागि मात्र नभई विश्व फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिचबीचको सम्भावित अन्तिम विश्वकप भेटका रूपमा पनि विशेष महत्त्व राख्छ। रियल मड्रिडमा लामो समय सँगै खेलेका यी दुई खेलाडीले आफ्नो देशका लागि विश्वकपमा पहिलो पटक एकअर्काविरुद्ध खेल्न लागेका हुन्।

पोर्चुगल र क्रोएशियाबीच हालसम्म १० पटक प्रतिस्पर्धा हुँदा पोर्चुगलले ७ खेल जितेको छ। क्रोएशियाले एक खेलमा मात्र जित निकालेको छ भने दुई खेल बराबरीमा सकिएका छन्। विगतको तथ्यांक पोर्चुगलको पक्षमा देखिए पनि नकआउट चरणमा दुवै टोली दबाबबीच उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहनेछन्।

यस्तै भोलि बिहान पौने ९ बजे स्विट्जरल्यान्ड र अल्जेरियाबीच अर्को नकआउट खेल हुनेछ। समूह ‘बी’ को विजेता स्विट्जरल्यान्ड र समूह ‘जे’ बाट उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै नकआउटमा पुगेको अल्जेरिया पहिलो पटक विश्वकपमा एकअर्काविरुद्ध खेल्न लागेका हुन्।

अन्तर्राष्ट्रिय फुटबलमा भने यी दुई टोलीबीच दुई पटक भेट हुँदा दुवै खेल स्विट्जरल्यान्डले जितेको छ। अल्जेरिया पहिलो पटक स्विट्जरल्यान्डविरुद्ध जित निकाल्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछ भने स्विट्जरल्यान्ड आफ्नो उत्कृष्ट लय कायम राख्न चाहन्छ।

यसअघि विश्वकपको प्रि–क्वाटरफाइनलमा क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे तथा मेक्सिको र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ। हालसम्म १० टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका छन् भने बाँकी टोलीहरूको टुंगो आज र भोलिका खेलपछि लाग्नेछ।

विश्वकप नकआउट चरण सुरु भएसँगै प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा हुने भएकाले विश्वभरका फुटबल समर्थकको ध्यान यी प्रतिस्पर्धामा केन्द्रित भएको छ।


सम्बन्धित समाचार