१८ असार, काठमाडौं । सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूका लागि राहतको खबर छ ।
इन्धनको मूल्यमा आएको भारी गिरावटलाई आधार मान्दै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडादरमा दुई प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । विभागका अनुसार डिजेलको मूल्य प्रतिलिटर दुई सय ३५ रुपैयाँ ८३ पैसाबाट घटेर एक सय ९३ रुपैयाँ ८३ पैसामा झरेपछि भाडा समायोजन गरिएको हो ।
यसअघि इन्धनको मूल्य बढ्दा बढेको भाडा पूर्ण रूपमा समायोजन नभएको तथ्यलाई समेत मध्यनजर गर्दै अहिले दुई प्रतिशतले भाडा घटाउने निर्णय लिइएको विभागले जनाएको छ ।
नयाँ भाडादर अनुसार अब यात्रुवाहक सवारी साधनका साथै पहाडी र तराईका बाटोमा चल्ने मालवाहक सवारी साधनहरूमा समेत दुई प्रतिशतले भाडा घट्नेछ ।
विभागले जारी गरेको सूचनाअनुसार यो निर्णय आजै अर्थात् असार १८ गतेदेखि नै देशभरका दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय स्तरका सार्वजनिक यातायात मार्गहरूमा कार्यान्वयनमा आइसकेको छ । यसले लामो दूरीको यात्रा गर्ने यात्रु र ढुवानी व्यवसायीलाई केही हदसम्म आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ ।


















