Logo

१९ असार,वीरगञ्ज । बारामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि छिमेकी पर्सा जिल्लालाई समेत उच्च जोखिम क्षेत्रमा राख्दै पशु सेवा विभागले कडा सतर्कता अपनाएको छ। संक्रमण नियन्त्रणका लागि संक्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी तथा तिनका उत्पादनको ओसार–पसार र बिक्री–वितरणमा पूर्ण रोक लगाउन व्यवसायीलाई निर्देशन दिइएको छ।

विभागले बर्डफ्लु संक्रमित पन्छी वा तिनका उत्पादन बिक्री–वितरण गरेको पाइए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले बर्डफ्लु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील रोग भएकाले कुनै पनि लापरवाही नगर्न आग्रह गरेका छन्। उनले संक्रमण पुष्टि भएका पन्छी वा तिनका उत्पादन बजारमा पठाउने व्यक्तिलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे।

उनका अनुसार गत चैतयता देशका ११ जिल्लामा बर्डफ्लु फैलिएको छ। भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले विभागले प्रभावित क्षेत्रमा निगरानी र नियन्त्रण कार्यलाई थप कडा बनाएको छ।

संक्रमण नियन्त्रणका लागि काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली परिचालन गरिएको विभागले जनाएको छ।

विभागका तथ्यांकअनुसार हालसम्म ती जिल्लामा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलोग्राम दाना नष्ट गरिएको छ। संक्रमण रोकथामका लागि संक्रमित पन्छी र उत्पादन नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय भएको विभागको भनाइ छ।

प्रवक्ता उपाध्यायले बर्डफ्लुविरुद्ध प्रभावकारी खोप उपलब्ध नभएकाले संक्रमण देखिनासाथ नष्ट गर्ने प्रक्रिया अनिवार्य भएको उल्लेख गरेका छन्।

विभागले नष्ट गरिएका पन्छी तथा सामग्रीको मूल्यांकन र मुचुल्का जिल्ला प्रशासन कार्यालयमार्फत संकलन भइरहेको जनाएको छ। सो आधारमा प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।

बारामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा समेत निगरानी बढाइएको छ। विभागले पशुपन्छी व्यवसायी तथा सर्वसाधारणलाई सतर्क रहन, शंकास्पद अवस्था देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन तथा संक्रमित पन्छी वा तिनका उत्पादनको कारोबार नगर्न आग्रह गरेको छ।


सम्बन्धित समाचार
भर्खरै