१९ असार, काठमाडौं । सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुबाहक फोर्स गाडी कर्णाली नदीमा खसेको २४ घण्टा बितिसक्दा पनि दुर्घटनाको पूर्ण विवरण अझै आउन सकेको छैन ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा बिहीबार बिहान भएको सो दुर्घटनामा गाडीमा सवार कति यात्रु थिए भन्ने यकिन तथ्याङ्क प्रशासनसँग छैन । प्रहरीले गाडीमा करिब ५–६ जना यात्रु सवार रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरे पनि आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन । दुर्घटनापछि गाडी समेत नदीमै बेपत्ता छ ।
नदीमा आएको बाढी र धमिलो पानीका कारण खोजी कार्यमा निकै कठिनाइ भइरहेको छ। सशस्त्र प्रहरीको गोताखोर टोली र सुरक्षाकर्मीहरूको ठूलो फौज घटनास्थलमा परिचालन भए पनि हालसम्म गाडीको अवस्था पत्ता लाग्न सकेको छैन। खोजीका क्रममा घटनास्थलमा गाडीका केही सिट र केही थान मोबाइल सेटहरू मात्र फेला परेका छन् ।
हालसम्म एक जना यात्रुको शव मात्र फेला परेको छ, जसको पहिचान कालिकोटको पचाल झरना गाउँपालिका–९ का ५४ वर्षीय जेखे तिरुवाका रूपमा भएको छ ।
बुलबुले यातायात प्रालिको उक्त गाडी अनियन्त्रित भई करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो। बाटोको कठिन भूगोल र वर्षाका कारण निरन्तर पानी पर्दा उद्धारमा समस्या भइरहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मीहरूले भिरालो र जोखिमपूर्ण स्थानबाट खोजी कार्यलाई तीव्रता दिएको बताए पनि गाडीको अत्तोपत्तो नलाग्दा पीडित परिवार र स्थानीयहरू थप चिन्तित बनेका छन् ।


















