१९ असार, काठमाडौं । संवैधानिक निकायहरूमा लामो समयदेखि रिक्त रहेका पदहरूमा नियुक्तिको प्रक्रिया अघि बढाउने उद्देश्यका साथ आज साँझ ५ बजे संवैधानिक परिषद्को बैठक डाकिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यस बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको पनि उपस्थिति रहनेछ । बैठकले लामो समयदेखि नेतृत्वविहीन रहेका विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी सिफारिस गर्ने एजेन्डालाई प्राथमिकतामा राखेको छ ।
हाल निर्वाचन आयोग, मुस्लिम आयोग, थारू आयोग, मधेसी आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहितका पदहरू रिक्त रहेका छन्। त्यसैगरी, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय समावेशी आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महिला आयोगमा पनि केही पदहरू पूर्ति हुन बाँकी छ ।
लामो समयसम्म यी पदहरू रिक्त रहँदा संवैधानिक निकायहरूको कार्यसम्पादनमा प्रभाव परेको भन्दै चौतर्फी आलोचना भइरहेको सन्दर्भमा आजको बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ ।


















